काठमाडाैं । कांग्रेस सांसद् गगन थापाले सांसद्को हैसियत वडा अध्यक्षको सरह भएको बताउनु भएको छ । यसलाई साँच्चिकै बदल्ने हो भने वडाअध्यक्ष नभइ विधायक भएर प्रस्तुत हुनुपर्ने उहाँकाे ।
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै थापाले भन्नुभयो- ‘त्यसका लागि सांसद् कोष खारेज गर्न सबैले हिम्मत गरौं, बजेट राखिदिन माग गर्दै चुरोटको खोलको टिपोट बोकेर मन्त्रीका ढोका धाउन छाडौं।’
बजेट निर्माणमा विगतदेखि अहिलेसम्म सांसद्को कुनै भूमिका नभएको उहाँले बताउनुभयो । ‘अहिलेको अर्थमन्त्रीलाई मात्र गाली गरेर केही हुँदैन, हामीले विगत देखिनै यही परम्परा विकास गर्दै आएका छौँ’- थापाले भन्नुभयो ।
यस पटकको बजेटमा स्वास्थ्य मन्त्रालयले प्राथमिकता पाएकोमा थापाले धन्यवाद् दिनुभयो । उहाँले भन्नुभयो- ‘यसमा खुसी लागेको छ, स्वास्थ्य क्षेत्रमा राम्रो बजेट आएको छ, तर पनि यो अपुग नै छ ।’
