काठमाडौं । सांसद् शेरबहादुर तामाङ्ले खयरको बोटमा नेपालको समृद्धि देख्नु भएको छ ।
प्रतिनिधि सभामा विभिन्न मन्त्रालयका लागि विनियाेजित बजेटमाथिको छलफलमा बोल्दै सांसद् तामाङले रातो खयरले नेपालको आर्थिक क्षेत्रमा कायापलट ल्याउने बताउनुभयो ।
‘हामी दुई-पाँच लाखको बजेटमा झगडा गरेर बसेका छौँ, बजेट कसरी बढाउने भन्नेमा ध्यान गएको छैन, ५० करोड रातो खयरका विरुवा लगाउने परियोजना ल्याअाैं, त्यसैले १० वर्षपछि नेपालको अर्थतन्त्र कहाँको कहाँ पुर्याउँछ’- तामाङले भन्नुभयो ।
देश गम्भीर आर्थिक संकटमा परेको बताउँदै तामाङले ऋण नलिने हो भने साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । ‘हामीसँग पैसै छैन, त्यसैले यो भएन त्यो भएन भनेर कराउनुको कुनै अर्थ छैन’ - उहाँले भन्नुभयो ।
देशको आर्थिक समृद्धिका लागि कृषि र वन क्षेत्रको विकास गर्ने कार्यक्रम ल्याउन उहाँले आग्रह गर्नुभयो । ‘कृषिमा आएनन्, टिकेनन्, बिकेनन्, अनि कसरी देश विकास हुन्छ ?’- तामाङले प्रश्न गनुभयो ।
