काठमाडौं । नेकपा सांसद् खिमलाल भट्टराईले एसईई र प्लस टूको परीक्षा व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले जुन विद्यालयमा विद्यार्थीले पढेको हो, साेही विद्यालयमा एसईई तथा प्लस टू परीक्षा लिन प्रस्ताव गर्नुभयाे । त्यसरी परीक्षा लिँदा विद्यालयले आवश्यक तयारी गर्न सक्ने बताउँदै उहाँले उचित मापदण्ड कायम गरेर परीक्षा लिनुपर्ने बताउनुभयो ।
क्वारेन्टाइनहरु पुलिसका हिरासत, जेल जस्ता भएको गुनासा आइरहेकाे भन्दै उहाँले क्वारेन्टाइनको उचित व्यवस्थापन गर्न माग गर्नुभयाे । व्यवस्थित शौचालय, उचित खानपान र सामाजिक दूरीसहितको क्वारेन्टाइनको व्यवस्था गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
भारत तथा तेस्रो मुलुकबाट आउनेको संख्या आगामी दिनमा वृद्धि हुने बताउँदै उहाँले पीसीआर परीक्षणको दायर बढाउन आग्रह गर्नुभयाे । अहिलेको अवस्थामा नै सरकारले परीक्षण कीट अभाव भयो भन्दा जनताको मनोबल कमजोर हुने उहाँको भनाई छ ।
आइसोलेशन र भेन्टिलेटरको संख्यामा समेत वृद्धि गर्न आग्रह गर्नुभयाे सदनमा बोलेर मात्र दायित्व पूरा नहुने भन्दै उहाँले सबै क्षेत्रमा जनप्रतिनिधिलाई राहत वितरण कार्यक्रम व्यवस्थित बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामी सबै लागेर भोकमरीको समस्या समाधान गरौं, राहत वितरणलाई मिलेर व्यवस्थित बनाऔं ।’
उत्पादनको बजार भएन भन्ने गुनासो सुनिएकाले देशको उत्पादनलाई बजारसम्म पुराउन योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । त्यसो गर्न नसके सरकार प्रतिको जनताको विश्वास घट्ने उहाँको भनाई छ ।
पछिल्लो समय सामाजिक सञ्जालबाट राष्ट्रपति माथि निरन्तर आक्रमण भइराखेको बताउँदै उहाँले भन्नुभयाे - 'यसबाट राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथि सरकारले गरेको कामलाई कमजोर बनाउने गरी गतिविधि भइराखेको स्पष्ट हुन्छ ।'
