काठमाडौं । सांसद् बालकृष्ण खाँडले तत्काल विद्यालय सञ्चालन हुन नसक्ने भएकाले जिम्मेवार निकायलाई अनावश्यक कुरा नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक बोल्दै सांसद् खाँडले भन्नुभयो - ‘शिक्षामन्त्री असारबाट विद्यालय खोल्ने भन्दै हिँड्नु भएको छ, कसरी खोल्नुहुन्छ विद्यालय ?’
देशभरका विद्यालयमा क्वारेन्टाइन सञ्चालन भएकाले विद्यालय सञ्चालन गर्न नसकिने अवस्था रहेको उहाँले बताउनुभयो । ‘क्वारेन्टाइनमा मानिस राख्ने, अनि विद्यार्थीलाई पढ्न आउ भनेर कसरी पढाउने ?’ - उहाँले प्रश्न गर्नुभयो ।
शिक्षामन्त्रीले निजी विद्यालयको पक्षमा बोलेको पनि उहाँको आरोप थियो । सामुदायिक विद्यालय सञ्चालनमा आउने वातावरण नबनेसम्म विद्यालय खोल्न नहुने उहाँले बताउनुभयो । ‘सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाउने अनि निजी विद्यालाई फिस उठाउनका लागि विद्यालयल चलाउन खोजोको हो ?’ - उहाँले भन्नुभयो ।
आइसोलेशन र क्वारेन्टाइनमा बसेका बिरामीलाई कसैसँग भेट्दिन भनेर सपथ खुवाई घर पठाएको प्रतिपनि उहाँले आपत्ति जनाउनुभयो । सरकारको कुनै पनि मन्त्रालयको बजेटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई सम्बोधन गर्ने बजेट नआएको बताउनुभयो । खाँडको प्रस्न थियो, ‘कहिँ पनि त्यो भूभागमा बजेट छुट्याएको छैन, के त्यो भूमि कागजमा मात्र नेपालको स्वामित्वमा ल्याउन खोजिएको हो ?’
