काठमाडौं । सांसद् छविलाल विश्वकर्माले भारतका कारण नेपाली भूमि डुबानमा परेकाे बताउनु भएकाे छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले रुपन्देहीको सिमावर्ती रोहिणी गाउँपालिकाको दश गजालाई सटाएर सडक बनाई भारतले नेपाली भूमि डुबाएको बताउनुभयो ।
‘सो ठाउँको निर्माण कार्य रोकेर नेपालीलाई डुवानबाट जोगाउने उपाय सरकारले गरोस्’ - उहाँले भन्नुभयो ।
सीमामा खटिएका सुरक्षाकर्मीको सेवा सुविधा बढाउन पनि उहाँले आग्रह गर्नुभयाे । बोर्डरमा सुरक्षाकर्मी बढाएपनि उनीहरुलाई स्रोत, साधन र पूर्वाधार नभएको बताउनुभयो । यसमा गृह मन्त्रालको ध्यान जानुपर्ने उहाँकाे भनाइ छ ।
‘सीमावर्ती क्षेत्रका जनता स्वयंले सुरक्षाकर्मीलाई हरसम्भव सहयोग गर्ने, स्थानीय सरकारले सम्भव भएसम्म सुविधा पुर्याउने काम गरेका छन्’-उहाँले भन्नुभयो ।
चौरजहारी घटनाका दोषीलाई कारबाही गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि उहाँले माग गर्नुभयो । संविधानमा गरेको व्यवस्था व्यवहारिक कार्यान्वनको सुनिश्चिताको पनि विकले माग गर्नुभयो ।
