काठमाडौं । प्रतिनिधि सभा सदस्य मिनेन्द्र रिजालले कोरोना महामारीले कावु बाहिरको परिस्थिति निर्माण गर्नसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
संसद्को आइतबारको बैठकमा बोल्दै सांसद् रिजालले भन्नुभयो, ‘केहीगरी बाढी पहिरो आयो भने कोरोना संक्रमण अभुतपूर्व महामारीमा परिणत हुन्छ ।’ सरकार जोखिम व्यवस्थापनको पूर्वतयारीमा रहनुपर्ने उहाँले बताउनुभयाे ।
केन्द्रमा संघीय मामिला मन्त्रालय रहेसम्म नेपालमा संघीयता कार्यान्वयन हुन नसक्ने भएकोले सो मन्त्रालयलाई खारेज गर्नुपर्ने रिजालको सुझाव छ ।
‘काेरोनाका कहरमा करको खोलोले नागरिककाे घाँटी नअचेट्नुस्, नागरिक दुःखमा छ,सरकार अभिभावकको संवेदना नत्याग्नुस्’, उहाँले भन्नुभयो ।
कोरोनाबाट देशलाई जोगाउन ठोस कार्ययोजना बनाएर सर्वदलीय संयन्त्र बनाई कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो ।
रुकुममा भएको मानवता विरुद्धको घटना ढाकछोप गर्ने गरी नलाग्न पनि उहाँले आग्रह गर्नुभएकाे छ ।
