काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सदनमा प्रस्तुत गर्नुभएको आगामी वर्षको बजेटको सत्तारुढ दलकै केही सांसदले विरोध गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुँदै सत्तारुढ दलका सांसद भीम रावल, पम्फा भुसाल, नविना लामा, गजेन्द्र बहादुर महत सहित केहीले आलोचना गर्नुभएको हाे ।
सांसद गजेन्द्र बहादुर महतले सरकारको बजेटलाई गुटको बजेटको संज्ञा दिनुभयो । उहाँले बजेट निर्माण गर्ने क्रममा जनताका प्रतिनिधिसँग औपचारिक कुरा गर्ने तर शिर्षकगत विनियोजनमा कर्मचारीहरुसँग मिलेमतो गर्ने गरिएको भन्दै गुनासो गर्नुभयो ।
सांसदलाई सरकार गठनको बेलामा मात्रै प्रयोग गर्ने गरिएको भन्दै उहाँले सांसद्लाई बाटो खर्च दिएर घर फर्काउन आग्रह गर्नुभयो । बजेट मन्त्रीले नचलाएको भन्दै उहाँले कर्मचारीकाे सेटिङमा बजेट आएको आरोप समेत लगाउनुभयो ।
सांसद नविना लामाले नेपालको संविधान र पार्टीको चुनावी घोषणा पत्र दुवै कोणमा च्युत भएको भन्दै शिक्षामन्त्री र अर्थमन्त्रीले सदनमा आत्माआलोचना सहित माफी माग्नुपर्ने बताउनुभयो ।
संविधान र पार्टीको चुनावी घोषणा पत्रमा समाजवादी राज्य व्यवस्था निर्माण गर्ने कुरा उल्लेख भएको भन्दै उहाँले ‘नेकपाको समाजवादको शिक्षानीति यही हो ?’ भनी प्रश्न गर्नुभयो ।
उहाँले अर्थमन्त्रीले सरकार र नेकपा पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गरेको आरोप लगाउनुभयो । शिक्षामन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण आएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न माग गर्नुभयो ।
सांसद् पम्फा भुसालले आफू सत्तारुण दलकै सांसद् भए पनि बजेटको आलोचना गर्नु पर्ने आवस्था आएको बताउनुभयो । बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसकेको उहाँले बताउनुभयो ।
सांसद् भीमबहादुर रावलले बजेटले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको क्षेत्रलाई सम्बोधन नगरेको भन्दै आलोचना गर्नुभयो । बजेटमा कतिपय विषय राष्ट्र, राष्ट्यिता र राष्ट्यि स्वाभिमा विपरितका कुरा समेत समेटिएकाले त्यसको कार्यान्वयनमा बिचार पुर्याउन आग्रह गर्नुभयो ।
