काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी अार्थिक वर्षभित्र नेपालको झण्डा फराएर रेल सञ्चालन हुने बताउनुभएको छ ।
प्रतिनिधि सभामा अाफ्नाे मन्त्रालय अन्तरगत विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल चलाइने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'आगामी वर्षबाट नै जयनगर-जनकपुरमा रेल चल्छ, सञ्चालनका लागि अावश्यक बजेट छुट्याइएकाे छ, दुई वटा रेल खरिद प्रक्रिया सकिएकाे छ ।'
काेराेना महामारीका कारण बजेटकाे अाकार घटेकाे बताउँदै उहाँले सांसद्हरुकाे माग अनुसार बजेट छुट्याउन नसकिएकाे उहाँले स्पष्ट पार्नुभयाे । अागामी वर्ष सांसद्हरुकाे माग सम्बाेधन गरिने समेत उहाँले बताउनुभयाे ।
बजेट कम अाएका कारण कतिपय अायाेजनालाई निरन्तरता दिन नसकिने बताउँदै उहाँले भन्नुभयाे - 'कोरोना महामारीका कारण गत वर्षमा भन्दा कम बजेट अाएकाे छ, त्यसैले विगतमा समावेश गरिएका कतिपय आयोजनाहरुलाई निरन्तरता दिन सकिँदैन ।'
चालु आर्थिकवर्षबाट विगतका अधुरा कार्यलाई प्राथमिकता दिएर निर्माण सम्पन्न गर्नेतर्फ मन्त्रालयकाे ध्यान केन्द्रित भएकाे उहाँकाे भनाइ छ । मन्त्रालयमा आएको बजेटलाई समानुपातिक रुपमा परिचालन गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयाे ।
ताेकिएकाे समयभित्र विकास निर्माण कार्य सम्पन्न नगर्ने तथा नगराउने सम्बन्धित निकायलाई जवाहदेही बनाउन कानुन निर्माण गरिएको समेत उहाँले बताउनुभयो । गुणस्तर कायम तथा समयमा नै काम सकाउन आवश्यक प्रावधानसहित कानुन निर्माण गरिएको उहाँले स्पष्ट पार्नुभयाे ।
उहाँले सडक निर्माण तथा विकास निर्माणका लागि आवश्यक मेसिन तथा उपकरणको कमी हुन नदिन प्रत्येक वर्ष थप उपकरणको व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यसका लागि पनि थप बजेट विनियोजन गरिएको उहाँको भनाई छ ।
मन्त्री नेम्वाङले कर्णाली प्रदेश लगायतका उच्च हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट न्यून भएको स्वीकार गर्नुभयाे । नेपालको संविधान, १५ औ योजना, सरकारको नीति तथा कार्यक्रम, राष्ट्रिय शहरी नीति, राष्ट्रिय शहरी विकास रणनीति र राष्ट्रिय आवास नीतिलाई मध्येनजर गरी कार्यक्रमको प्राथमिकता छनौट गरिएको स्पष्ट पार्नुभयो ।
मन्त्री नेम्वाङले कञ्चनपुरको गड्डाचौकीदेखि दार्चुलाको तिंकरसम्मको महाकाली करिडोर निर्माणलाई सरकारले महत्त्वका साथ अगाडि बढाएको जानकारी दिनुभयाे ।
उहाँले सन्तुलित शहरी विकास र बसाईसराईलाई व्यवस्थित गर्न मध्य पहाडी लोकमार्ग र आसपासका १५ नगरपालिका, हुलाकी राजमार्गमा पर्ने १० ठाउँमा र तराई मधेसका बाटोमा नपरेका ५ नगरपालिका सहित २७ स्थानमा विगत बर्षहरुदेखि नयाँ शहर आयोजना अघि बढेको बताउनुभयो । बजेट न्यून भएकाले नयाँ शहरका थप आयोजनाहरु अघि बढाउन नसकिएको बताउनुभयो ।
बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न सघन शहरी कार्यक्रम मार्फत भारतसँग सीमा जोडिएका तराई मधेसका २१ वटा जिल्लाका सदरमुकामस्थित नगरपालिकाहरुमा कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको, स्मार्ट शहरका लागि १३ वटा नगरपालिका र एक शहर एक पहिचान अन्र्तगत १८ वटा नगरपालिकामा सञ्चालित कार्यक्रमका लागि बजेट विनियोज गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
उमाकान्त चौधरी, प्रेम सुवालबाट, राजेन्द्रप्रसाद लिङ्गदेनले मन्त्रीको जवाफमा थप स्पष्टिकरण माग गरेका थिए । मन्त्रालयगत बजेटमा सांसदहरु उमाकान्त चौधरी, प्रेम सुवाल, रामबहादुर विष्ट , मिनाक्षी झा, दुर्गा पौडेलले खर्च कटौतिको प्रस्ताव राख्नुभएको थियो ।
मन्त्री नेम्वाङले विकास निर्माणमा निकै राम्राे काम गर्नुभएकाे छ । काठमाडाैंका सबै सडक निर्माणका लागि उहाँ निकै सक्रिय हुनुहुन्छ ।
