काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सबैखाले हिंसा अन्त्यका लागि काम भइरहेकाे बताउनुभएकाे छ ।
प्रतिनिधि सभा बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयाे - 'समाजमा रहेका सबै खाले हिंसा अन्त्यका लागि सरकार प्रयासरत छ ।'
मन्त्री गुरुङले समाजमा रहेको कुसंस्कार, कुरिति र अन्धविश्वास अन्त्य गर्न मन्त्रालयले विशेष प्राथमिकतासाथ काम गरिएकाे बताउनुभयाे । महिला, बालबालिका र जेष्ठ नागरिकमाथि हुँदै आएको व्यवहारमा परिवर्तन गर्ने गरी कार्यक्रमह तय गरिएकाे बताउनुभयाे ।
मन्त्री गुरुङले बालबालिकाको राष्ट्रिय रणनीति तयार गर्ने, महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्यका लागि महिला आर्थिक सशक्तिकरणमा जोड दिने र जेष्ठ नागरिकलाई सक्रिय बनाई पुस्तान्तरणको रुपमा विकास गर्ने कार्यक्रम आएको बताउनुभयो ।
अपाङ्गताको क्षेत्रमा पनि फरक क्षमता भएकाहरुको पहिचान गरी परिचयपत्र दिने र सामाजिक सुरक्षाको अनुभूति दिलाउन अपांगतामैत्री वातावरण निर्माण गर्न बजेट केन्द्रित भएको गुरुङले बताउनुभयाे ।
सामाजिक क्षेत्रका कार्यक्रमलाई पनि राष्ट्रिय गौरवको कार्यक्रममा रुपान्तरण गर्ने गरी मन्त्रालयले कार्यक्रमहरु ल्याएको उहाँले बताउनुभयो ।
समाजमा हुने विभेदहरुको अन्त्य गर्न र मर्यादित नेपाल निर्माण गर्नको लागि केही नीतिगत रुपमा सामाजिक रुपान्तरणका विषयहरुलाई पनि समेटिएको उहाँले बताउनुभयो । उहाँले अपाङ्गता तथा महिला क्षेत्रका ऐनहरुलाई संशोधन गर्ने प्रक्रियाको सुरुवात मन्त्रालयले गरिसकेको समेत बताउनुभयो ।
