काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भन्नुभयाे - 'मेलम्चीमाथि वर्षौंदेखि उठदै आएका प्रश्नको बिटमार्ने समय अाउँदैछ, सरकार चाँडै नै मेलम्ची आयोजना उद्घाटनकाे समय सार्वजनिक गर्ने तयारीमा छ ।'
आगामी आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने उहाँले दाबी गर्नुभयो ।
दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथ भन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने समेत बताउनुभयो ।
प्रदेश नम्बर दुईमा खानेपानीमा आर्सनिक समस्या रहेको र त्यसको समाधानका लागि तत्कालिन र दिर्घकालिन योजना सहित अगाडि बढेको मन्त्री मगरले बताउनुभयो ।
वास प्लान अनुसार तत्कालीन अवस्थामा समाधान गरिने र दिर्घकालिन रुपमा मेचि देखि महाकाली सम्मका खोलाहरुलाई सम्भाव्यता अध्ययन गर्ने र सम्भव भएकालाई आगामी आर्थिक वर्षदेखि नै डीपीआर कार्यान्वयनमा लैजाने गरी कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।
देशैभर लागू हनेगरी खानेपानीको वास प्लान विकास गरिने र त्यसैको आधारमा खानेपानीका आयोजना तय गरिने बताउनुभयो । आगामी आर्थिक वर्ष भित्रमा ९४ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुर्याउने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको बताउनुभयो ।
उहाँले इतिहासमै पहिलो पटक खानेपानी विधेयक संसदमा प्रस्तुत भएको र छिट्टै कानूनको रुपमा आउने विश्वास समेत व्यक्त गर्नुभयो ।
