काठमाडौं । विभिन्न कारणले चर्चा र विवादमा आइरहने कांग्रेस सांसद् अमरेश सिंहले श्रम मन्त्री रामेश्वर राय यादवलाई लगाउनुभएको आरोप यस्तो छ– ‘सय जना मानिस विदेश नपठाउने म्यानपावर खारेज हुन्छ । त्यसरी पठाउने म्यानपावर ५१२ वटा छ । ती खारेज हुन्छ कि हुन्न ? उनीहरुले एक लाखको दरले उठाएर पाँच करोड मन्त्रीलाई दिन्छौं भनेका छन् ।’
म्यानपावर खारेज नगर्ने सर्तमा पाँच करोड रुपैयाँ दिइन लागेको दावी सांसद् अमरेशले प्रष्टै शब्दमा प्रतिनिधि सभा बैठकमा गर्नुभएको थियो ।
शनिबार प्रतिनिधि सभा बैठकमा सांसद् अमरेशले त्यस्तो आरोप लगाउनुभएको थियो । आरोपको जवाफ अमरेशले साेमबार प्रतिनिधि सभा बैठकमा मन्त्री रामेश्वरबाट पाउनुभयो ।
वार्षिक बजेटमा श्रम तथा रोजगार मन्त्रालयलाई छुट्याइएको बजेट उपरको छलफलमा अमरेशले पाँच करोड रुपैयाँको आरोप लगाउनुभएको थियो । सो छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै आज मन्त्री रामेश्वरले प्रतिनिधि सभामा भन्नुभयो– ‘जो माननीयले त्यस्तो आरोप लगाउनुभयो, उहाँलाई म वाल्यकालदेखि नै चिन्छु ।’ तर, मन्त्री रामेश्वरले अमरेशको नाम भने लिनुभएन । रामेश्वर र अमरेश दुवै सर्लाही जिल्लाका हुनुहुन्छ ।
मन्त्री यादवले ऐन संशोधन गरेर व्यवसायीहरुको मर्का समाधान गर्न संसद्मा विधेयक ल्याइने पनि जानकारी दिनुभयो ।
‘एकजना माननीय सदस्यले व्यक्तिगत कुण्ठाले ग्रसित भई विभागीय मन्त्रीले व्यवसायीसँग पैसा लिएर ऐन संशोधन गर्न खोजेको कुरा उठाउनुभएको थियो । ऐन संशोधनको काम मन्त्रीले गर्ने नभई संसद्ले गर्ने विषय समेत बिर्सेर लगाइएको तथ्यहीन आरोपले संसद् र स्वयं माननीयज्यूको गरिमामा आँच पुराउने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु ।’
मन्त्री रामेश्वर यतिमै रोकिनु भएन, उहाँले भन्नुभयो– ‘सो आरोप प्रमाणित गरेर देखाउन माननीयज्यूलाई चुनौती दिन पनि चाहन्छु । सम्बन्धित माननीयले आफ्नो विगतको इतिहास पनि हेर्ने र सम्बन्धित मन्त्रीको विगत पनि हेर्ने । सम्बन्धित माननीयज्यूले शुरुदेखि नै चिन्नुभएको छ, मैले पनि व्यक्तिको हैसियतले बच्चैदेखि चिनेको छु । आफू जस्तै अरुलाई पनि बुझ्ने प्रवृत्तिका कारण यस्ता कुराहरु आउँदो रहेछ ।’
मन्त्री रामेश्वरले हाम्रो गाउँमा एउटा उखान छ भन्दै अगाडि भन्नुभयो– ‘जाको रहे भावना जैसी, प्रभु मुरत देखि तिन तैसी । यस्तो प्रवृत्ति नगरिदिन म माननीयज्यूलाई आग्रह गर्न चाहन्छु ।’
उहाँले अगाडि भन्नुभयो– ‘राजनीतिक जीवनमा म तेस्रो पटक मन्त्री बनेको हूँ । शुरुदेखि अहिलेसम्म भ्रष्टाचार प्रमाणित गरिदिन चुनौती दिन्छु । सावित गरेर देखाइदिनुस्, म राजनीतिक सन्यास लिन तयार छु ।’
मन्त्री रामेश्वरले बोल्नुभएपछि उहाँलाई स्पष्टिकरण सोध्न सांसद्हरुलाई समय दिइएको थियो । सो समयमा सांसद् अमरेशले कुनै स्पष्टिकरण सोध्नुभएन । बरु, कांग्रेसकै सांसद् डिला संग्रौलाले स्पष्टिकरण सोध्नुभयो । डिलाले माग गर्नुभएको स्पष्टिकरणमा मन्त्री रामेश्वरले उच्च राजनीतिक संस्कार देखाउँदै भन्नुभयो– ‘नेपाली कांग्रेसको छायाँ मन्त्री डिला संग्रौलाले बीचबीचमा सल्लाह मशविरा दिइरहनुहुन्छ । उहाँको सुझावलाई ह्रदयंगम गर्दै सम्पूर्ण बेरोजगारहरुलाई देशभित्रै रोजगार दिन कुनै कसर बाँकी नराखिने जानकारी दिन्छु ।’
