काठमाडौं । प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले क्वारेन्टिनलाई मान्छे मार्ने थलो नबनाउन आग्रह गर्नुभएको छ ।
मंगलबार संसद् बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दलका सांसद्हरु उठेपछि सभामुखले दिएको समयमा बोल्दै सांसद् थापाले भन्नुभयो ‘सरकारले कसैको कुरा नसुनेको कारण आज यो अवस्था आयो ।’
सबैकुरा म जान्दछु भन्ने सरकारको अहमताले कोरोना बढेको उहाँको आरोप छ । उहाँले कोरोनामा हालसम्म खर्च भएको १० अरब रुपैयाँको हिसाव माग्नुभएको छ ।
क्वारेन्टिन मान्छे मार्ने क्याप बनेको उहाँको आरोप थियो । समयमा पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टिनमा बस्नेले हैरानी खेपेको उहाँले बताउनुभयो ।
थापाले भन्नुभयो, ‘आरडीटी परीक्षण काम लाग्दैन भन्दा भन्दै परीक्षण गर्ने अपराध कसले गर्यो ? हामीलाई जवाफ चाहिन्छ ।’ उहाँले थप्नुभयो, ‘दीर्घरोगीले औषधि किन पाएनन्, भोकभोकै मानिस किन मरे जवाफ चाहिन्छ, उहाँहरुले जवाफ दिनुभएन भने बोलेर मात्र थपक्क बस्दैनौँ, काँग्रेसले सरकारलाई सुतेर बस्न दिँदैन ।’
