काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले विद्यार्थीहरुको शैक्षिक वर्ष क्षति हुन नदिने गरी सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ ।
विनियोजन विधेयक माथि उठेका प्रश्नकाे जवाफ दिँदै उहाँले एसईई लगायत परीक्षा चाँडैनै सञ्चालन गर्न सरकार प्रयासरत रहेको बताउनुभयो ।
एसईई लगायतका परीक्षालाई लिएर भएको अन्योलतलाई सरकारले तत्काल स्पष्ट पार्ने भन्दै उहाँले भन्नुभयो –‘परीक्षा सम्बन्धमा विद्यार्थी तथा अभिभावकमा भएको अन्योलता अब धेरै दिनसम्म रहने छैन ।’
उहाँले तीन विषयमा कोरोनाका कारण रुपान्तरणको अवसर प्राप्त भएको बताउनुभएको छ । कोरोनाका कारण परम्परागत शिक्षा प्रणालीमा असर गरेतापनि लकडाउनले नयाँ शिक्षा क्षेत्रमा नयाँ अवसर प्रदान गरेको मन्त्री पाेखरेलकाे भनाइ छ ।
औपचारिक शिक्षा, किताबी शिक्षा र गुरुज्ञानलाई चेलामा हस्तातरण गर्ने शिक्षाको विकास भएको भन्दै उहाँले यसबाट व्यक्तिलाई यान्त्रिक बनाउनेतर्फ अग्रसर बनाएको उहाँको भनाइ छ ।
विद्यार्थीमा स्वः अध्ययन, मनन र बुझाइको प्रक्रियाबाट शिक्षा लिने बानीको विकास भएको भन्दै उहाँले सो सिकाइमा केन्द्रित हुँदा शिक्षक, विज्ञ पुस्तक, इन्टरनेट, मिडिया आदिको प्रयोग गर्न पनि सिकाएको बताउनुभयो ।
प्रत्यक्ष आमनेसामने भएर शिक्षा हासिल गर्ने प्रणालीको विकल्प र परिपूरकको रुपमा वैकल्पिक शिक्षा पद्धतिलाई स्वीकार गर्न बाध्य बनाएकाले अब खुला तथा दुर शिक्षा, वैकल्पिक शिक्षा तथा अनौपचारिक शिक्षा पद्धतिमा तिव्रता ल्याउन प्रेरित गरेको उहाँले बताउनुभयो । वर्तमान परिस्थितिले शिक्षाको प्रविधिमा आधारित औद्योगिक क्रान्तिबीच आर्टिफिसियल, इन्टेलिजेन्स युगमा सूचना तथा सञ्चार प्रविधिलाई अधिकतम अंगिकार नगरी नहुने पाठ सिकाएको पनि उहाँले बताउनुभयो । २०८५ साल सम्ममा सबैलाई आधारभूत शिक्षा प्रदान गरिने बताउँदै उहाँले त्यति बेलासम्म आठ कक्षा पास नगर्ने व्यक्ति कोही पनि नरहने परिकल्पना गरिएको जानकारी दिनुभयाे ।
शिक्षामा हुने परिवर्तन एकै दिन वा हप्तामा हुन सक्दैन यस्को नतिजा देखिन केही समय लाग्छ भन्दै उहाँले समाजवादउन्मूख शिक्षाका हाम्रा प्रयासहरु समय क्रममा यस्का परिणामहरु देखिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
उहाँको जवाफमा पूरक प्रश्न गर्दै सांसद् गगनकुमार थापा, प्रेम सुवाल लगायतले एसईई खारेज नै गर्न तथा अनलाइन शिक्षाका लागि फ्री वाइफाइको व्यवस्था गर्न माग गर्नुभएको थियो । जवाफमा मन्त्री पोखरेलले एसईईको मात्र समस्या नभएको हुँदा सरकारले व्यवस्थित धारणा बनाउने तयारी गरिरहेको बताउनुभयो ।
परिस्थिति बदलिँदै गएको तथा संक्रमण फैलिँदै गएका कारण एसईई खारेज गर्नेबारे, एसईई विद्यालयलाई दिने बारेमा पर्याप्त गृहकार्य गर्नुपर्ने बताउनुभयो । लकडाउनको मोडालिटी फाइनल भएपछि यसबारे निर्णय गरिने उहाँले बताउनुभयो ।
