काठमाडाैं । संविधान संशाेधन विधेयकमाथि प्रतिनिधि सभामा छलफल सुरु भएकाे छ ।
मंगलबार बसेकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुभयाे ।
साे प्रस्ताव पेस भएसँगै सभामुख अग्निप्रसाद सापकाेटाले छलफल अघि बढेकाे बताउनुभयाे ।
छलफलमा भाग लिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले अाफ्नाे पार्टी संशाेधनकाे पक्षमा रहेकाे बताउनुभयाे । कांग्रेस संसदीय दलसँगै केन्द्रीय समितिले संशोधनका पक्षमा समर्थन गर्ने संस्थागत निर्णय गरिसकेकाे समेत उहाँले स्मरण गराउनुभयाे ।
'संविधान संशाेधन विधेयक सकारात्मक छ र यसमा कांग्रेसले दृढ समर्थन गर्छ' - उहाँले भन्नुभयाे ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत भूभाग समेटिएको नक्साअनुसार निशान छाप परिमार्जन गर्न ९ जेठमा सो विधेयक दर्ता गरेको थियो ।
विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निशान छापमा सो नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने उल्लेख छ ।
