काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी आर्थिक वर्षभित्र सीमामा शसस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीअाेपी) काे संख्या बढाइने बताउनु भएकाे छ ।
प्रतिनिधि सभामा सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै मन्त्री थापाले पाँच ठाउँमा स्थापना गरिने लक्ष्य राखिएको बताउनुभयाे । उहाँले सीमा सुरक्षा व्यवस्थापनका लागि बीओपीको संख्या वृद्धि गरिने बताउनुभयो ।
नेपाल र छिमेकी मुलुकका अधिकारीबीच विभिन्न समयमा नियमित रुपमा समन्वय तथा संयुक्त बैठक बसी सीमा व्यवस्थापन गरिँदै आएको बताउनुभयाे ।
छिमेकी मुलुकसँग सीमाना जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी, छिमेकी मुलुकका समकक्षी सीमाका अधिकारीहरुबीच सीमा व्यवस्थापन, शान्ति सुरक्षा लगायत विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो ।
मातहतका मन्त्रालयलाई प्राप्त स्रोत साधनकाे अधिकतम रुपमा सदुपयोग गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
प्रहरी कर्मचारीलाई दक्ष र प्रभावकारी बनाउन राष्ट्रिय प्रहरी प्रशिक्षण मार्फत प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको उहाँको भनाइ छ ।
सुरक्षा व्यवस्थालाई सक्षम, सुढृड र विश्वसनीय बनाउनका लागि के कति संख्यामा नेपाल प्रहरीका कर्मचारी र शसस्त्र प्रहरी बलका कर्मचारी आवश्यकता छन् भन्ने विषयमा संगठन ऐन व्यवस्थापन सर्वेक्षणको कार्य अन्तिम चरण पुगेको उहाँले बताउनुभयो ।
आगामी वर्षमा ५५ वटा प्रहरी कार्यालयहरु निर्माण गर्न बजेट विनियोजन गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
लागूऔषध दूर्व्यसनी नियन्त्रण गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै उहाँले त्यसका लागि बजेट व्यवस्था गरिएको जानकारी दिुनुभयाे । गाजाँका विषयमा सदनले गर्ने निर्णयलाई नै सरकारले स्वीकार गर्ने उहाँको भनाई छ ।
समाजमा हुने आपराधिक कार्यप्रति शून्य सहिष्णुताको नीति अवलम्बन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गरिने उहाँले बताउनुभयाे । यस्ता अपराधमा संलग्न जो कोहीलाई बिना पूर्वाग्रह र निष्पक्ष रुपमा कानुनको दायरमा ल्याउन गृह मन्त्रालय मातहतका कर्मचारीहरुलाई स्पष्ट निर्देशन दिइएको उहाँले बताउनुभयो ।
कहिँ कतैबाट राजनीतिक आर्थिक प्रभावमा परी कर्तव्य पालनमा कमजोरी भएको पाइएमा कानुन बमोजिम कारवाही गरिने उहाँको भनाई छ ।
आगामी आर्थिक वर्षमा शान्ति सुरक्षा कायम र अपराध नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम, काठमाडौं उपत्यकामा सीसी टीभी जडान, डिजिटल फरेन्सीक ल्यावका स्तर वृद्धिका लागि मन्त्रालयले काम गरिरहको उहाँले बताउनुभयो ।
कारागारलाई क्रमश: सुधारगृहका रुपमा रुपान्तरण तथा कारागार व्यवस्थापन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षमा आवमा निर्माणाधीन नुवाकोटको केन्द्रीय कारागार तथा बाँकेको कारागार निर्माण कार्य सकिने बताउनुभयो ।
