काठमाडौं । गाैरवपूर्ण इतिहास रचेको भन्दै सांसद् शान्ता चौधरीले सरकारलाई धन्यवाद् दिनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा संविधान संशाेधन विधेयकमाथिकाे छलफलमा भाग लिँदै उहाँले भन्नुभयाे - 'वर्तमान सरकारले पूर्खाको वीरताले रचेको सुनौलो इतिहासको गौरव कायम राखेकाे छ, इतिहास रचेकाे छ, म धन्यवाद् दिन्छु ।'
खोसिएको नेपालको भूमि मानचित्रमा समेटिनु नै सबैभन्दा खुशीको क्षण भएको उहाँले बताउनुभयो । ‘भौतिक रुपमा ढलौँला चितामाथि जलौँला तर जल्न दिदैनौं हाम्रो स्वाभिमान’ - उहाँले भन्नुभयाे ।
नेपालीको शान र स्वाभिमानलाई कहिल्यै ढल्न र जल्न नदिने सांसद् चाैधरीले प्रतिबद्धता जनाउनुभयाे । नेपाली माटोमाथि उभिएर नेपालीकै पसिनाको मूल्य लिएर नेपाल आमाको छातीमा कुल्चदैँ मुटुभन्दा प्याराे लाग्ने राष्ट्रियतामाथि धावा नबोल्न समेत आग्रह गर्नुभयाे ।
सदनबाट निशान छाप बद्लिँदै गरेकाे भन्दै उहाँले भूमि व्यवस्था मन्त्रालयलाई पनि धन्यवाद् दिनुभयाे । साे विधेयकमाथि समर्थन जनाउने सम्पूर्ण सांसद्लाई पनि उहाँले धन्यवाद् दिनुभयाे ।
नेपाली भूमिलाई भारतीय देख्ने दोषी चश्मालाई उतारेर खुला आखाँले हेरिदिन उहाँले केही सांसद्लाई अाग्रह गर्नुभयाे । अाफ्नाे भूमि अरुकाे हाे भन्नेलाई समेत उहाँले व्यङ्ग्यात्मक रुपमा धन्यवाद् दिनुभयाे ।
