काठमाडौं । संसदीय राजनीतिक व्यवस्थामा प्रधानमन्त्री अति व्यस्त हुन्छन् । प्रधानमन्त्री सामान्य अवस्थामा संसद् बैठकमा जाँदैनन् । सदनमा प्रधानमन्त्रीकाे उपस्थितिलाई विशेष मानिन्छ । अाज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा अाेली पुग्नुभयाे । लामाे समय बस्नुभयाे ।
उहाँ पुग्नुकाे कारण थियाे भारतले लुटैकाे भूमि समेटेर जारी गरिएकाे नयाँ मानचित्र संविधानमा अंकित गर्ने प्रक्रियामा हुने छलफलमा सहभागी हुनु । नेपालकाे राष्ट्रियताले अाज अर्काे एक महान फड्काे मारेकाे छ । प्रतिनिधि सभाको आजको बैठकबाट नयाँ मानचित्रमा अाैपचारिक छलफल सुरु भएकाे छ । अाजकाे बैठक अभूतपूर्ण र असाधारण देखियाे ।
एक अर्काबीच आरोप पत्यारोपमा उत्रने विभिन्न दलका सांसद् सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा भने एकढिक्का भएका छन् । एक ठाउँमा उभिएका छन् ।
मानचित्र मात्र होइन भूमि नै फिर्ता ल्याउन आग्रह गर्दै उनीहरुले यसमा पूर्ण समर्थन रहेको बताए ।
सत्तारुढ मात्रै होइन, प्रतिपक्षी र मधेसवादी दलका सांसद्हरुले पनि सरकारलाई विशेष धन्यवाद् दिँदै विधेयमा समर्थन जनाए । सांसद्हरुले नेपाली भूमिबाट विदेशी सेना हटाउन र सुस्तामा मिचिएकाे भूमि समेत फिर्ता ल्याउन सरकारलाई आग्रह गरे ।
नेपालकाे राष्ट्रियताकाे विरुद्धमा खुलेअाम बाेल्दै अाएका सरिता गिरी र बाबुराम भट्टराईले प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टीले पनि संविधान संशाेधनकाे पक्षमा मत जाहेर गरेकाे छ ।
यसाे भने सांसद्हरु
नेकपा सांसद् कृष्णभक्त पोखरेलले संशोधन प्रस्तावको स्वागत गर्नुभयो । सरकारलाई विशेष धन्यवाद् दिँदै उहाँले राष्ट्रियताका पक्षमा सबै दल एक भएर संशोधन पारित गर्न आग्रह गर्नुभयो । राष्ट्रहितविरुद्ध बोल्नेलाई कारबाही गर्न उहाँले माग गर्नुभयो ।
नेकपाकै सांसद् खगराज अधिकारीले नेपाली भूमिबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पारित गर्न आग्रह गर्नुभयो । तत्कालीने नेकपा एमालेले नै सुगौली सन्धिबमोजिम लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भनेर आवाज उठाएको बताउनुभयो । उहाँले सुस्तामाथि न्याय गर्न पनि आग्रह गर्नुभयो ।
नेकपाकै सांसद् गंगा चौधरी र तुल्सा थापाले राष्ट्रियता र राष्ट्रहितका पक्षमा रहेको विधेयकको प्रशंसा गर्दै नेपाल कसैका अगाडि नझुक्ने बताउनुभयो ।
नेकपाकै सांसद् पूर्णकुमारी सुवेदीले संविधान संशोधन भएपछि सरकारले कूटनीतिक वार्तालाई अगाडि बढाउनुपर्ने बताउनुभयाे । नेकपाकी सचेतक शान्ता चौधरीले गौरवपूर्ण, अभूतपूर्ण र सुनौलो इतिहास रचेको भन्दै सरकारलाई धन्यवाद् दिनुभयो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक कालकृष्ण खाँडले विधेयक सकारात्मक रहेको भन्दै दृढ समर्थन जनाउनुभयो । सचेतक पुष्पा भुसालले पनि विधेयककाे समर्थन गर्नुभयो । कांग्रेस सांसद् गगन थापाले अब भूमि फिर्ता ल्याउँन र नेपाली भूमिबाट भारतीय सेना फिर्ताका लागि पहल गर्न आग्रह गर्नुभयो ।
कांग्रेसकै सांसद् डिला संग्रौलाले पार्टी नयाँ नक्सासहितको संशोधनका पक्षमा मतदान गर्न आतुर रहेको बताउनुभयो । कांग्रेसकै सांसद् मिनेन्द्र रिजालले सामूहिक रुपमा भूमि फिर्ता लिन लाग्नुपर्ने बताउनुभयो ।
कांग्रेस सांसद् प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा आफ्नाे नाम कोर्ने समय आएको भन्दै भूमि फिर्ताका लागि तयारी थाल्न आग्रह गर्नुभयो ।
यसअघि संविधान संशोधन विधेयकका पक्षमा केही नबोलेको जनता समाजवादी पार्टी (जसपा) ले समेत आज समर्थन गरेको छ । जसपाका सांसद् राजेन्द्र श्रेष्ठले आफूहरु संशोधनको पक्षमा रहेको बताउनुभयो । उहाँले आफूहरुले उठाएका संविधान संशोधनका अन्य विषयलाई पनि समावेश गर्न माग गर्नुभयो ।
राष्टिय जनता पार्टी नेपालका सांसद् लक्ष्मणलाल कर्णले पनि विधेयकमा समर्थन जनाउँदै सरकारलाई अघि बढ्न आग्रह गर्नुभयो । आफू मात्रै राष्ट्रवादी हूँ अरु होइन भन्ने विचार त्याग्दै आफूहरुको संशोधन प्रस्तावलाई पनि हेरिदिन उहाँले आग्रह गर्नुभयो ।
सदनका हरेकजसो काम कारबाहीमा फरक मत राख्ने नेमकिपाका सांसद् प्रेम सुवालले पनि विधेयकको पक्षमा रहेको बताउनुभयो ।
