काठमाडौं । जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी भन्ने महान भनाईलाई नेपालका सांसद्हरुले पुन एक पटक सार्थक बनाएका छन् ।
नेपालको पश्चिममा लुटिएको भूमि समेटिएको नयाँ नक्सालाई संविधानमा समेट्न प्रतिनिधि सभाको आजको बैठकमा प्रस्तुत गरिएको विधेयकमा बोल्दै सांसद्हरुले नेपालको राष्ट्रियता प्रति अपूर्व एकता देखाएका छन् ।
बैठकमा बोल्दै सांसद् कृष्णभक्त पोखरेलले भने– ‘नेपाल कहिले पनि उपनिवेश बन्न परेन । भारत अंग्रेजको उपनिवेश थियो । नेपालको सार्वभौमिकता र अखण्डतामा बारम्बार प्रहार गरे तर सकेनन् ।’
भारतले कालापानीमा अतिक्रमण गर्नु निन्दनीय हो भन्दै आफ्नो भूमि समेटेर निशाना छापमा भएको नेपालको नक्सा फेर्न विधेयक ल्याइएकोमा पोखरेलले समर्थन गर्नुभयो ।
नेपाल विरोधी अभिव्यक्ति दिने कोही पनि सांसद्लाई माफी दिइन नहुने भन्दै उहाँले देशविरोधी अभिव्यक्ति दिनेलाई कारवाही गरिनुपर्ने बताउनुभयो ।
बालकृष्ण खाँडले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न नेपाली जनता एकढिका हुने बताउनुभयो । संविधानको अनुसूची ३ संशोधन गर्ने पक्षमा नेपाली कांग्रेस एक ढिक्का भएको उहाँले बताउनुभयो ।
विगतका कांग्रेस सरकारहरुले कालापानी लिपुलेक नेपालको हो भनेर भारतसँग बारम्बार भनेको खाँडले बताउनुभयो ।
लुटिएको भूमि समेटेर नयाँ नक्सा जारी गर्न कांग्रेसले सरकार समक्ष आग्रह गरेको पनि उहाँले बताउनुभयो । नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्न कांग्रेसको दृढ समर्थन रहेको उहाँले बताउनुभयो ।
जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले संविधान संशोधनको पक्षमा मत जाहेर गर्दै काली नदी पूर्वको भूमि नेपालको भएको बताउनुभयो । काली नदी कुन हो भन्नेमा विवाद निकालिएको भन्दै उहाँले लिम्पियाधुराको सिरानबाट बगेर आएको नदी नै काली नदी हो भन्नुभयो । सुगौली सन्धि अनुरुपको भूभागमा नेपालले प्राप्त गर्नुपर्ने उहाँले बताउनुभयो ।
सार्वभौमिकता, भौगोलिक अण्डता र राष्ट्रियतामा नेपालले कसैसँग सम्झौता नगर्ने उहाँले बताउनुभयो ।
गंगा चौधरीले आफ्नो देशको पक्षमा नलागेर अर्काे देशको पक्षमा लाग्नु अपराध हो भन्नुभयो । राज्यको उच्च पदमा बसेकाहरुको रगतमा विदेशी रगत बग्नु दुर्भाग्य भएको उहाँले भन्नुभयो ।
आफ्नो देशलाई मुटुमा राख्छु भन्दै उहाँले संसद्मा बसेर विदेशीको पक्षमा बोल्न नपाइने बताउनुभयो । उहाँले सुगौली सन्धि निलम्बन गरी ग्रेटर नेपालको पक्षमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल सरकारले हिम्मत साथ नयाँ नक्सा जारी गरेकोमा तीन करोड जनताको पक्षबाट सरकारलाई उहाँले धन्यवाद दिनुभयो ।
सांसद् पुष्पा भुषालले संविधान संशोधन अपरिहार्य भन्दै लिपुलेक कालापानी नेपालको हो भन्नेमा कुनै विवाद गर्न नहुने बताउनुभयो । सरकारले भारतसँग राजनीतिक र कूटनीतिक वार्ता अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
संविधान संशोधन गम्भीर विषय भएको भन्दै उहाँले सार्वभौमिकताको विषयमा सम्झौता गर्न नसकिने बताउनुभयो ।
जनता समाजवादीका सांसद् लक्ष्मणलाल कर्णले संविधान संशोधनको समर्थन गर्दै हाम्रो राष्ट्रियतामा शंका नगर्नुस् भन्नभयो । नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतामा आफूहरु पछाडि नपर्ने बताउनुभयो । म मात्रै राष्ट्रवादी अरु राष्ट्रवादी होइनन् भन्ने भावना नलिन उहाँले आग्रह गर्नुभयो । सुगौली सन्धिपछि देशले विभिन्न सन्धि गरेको स्मरण गर्दै उहाँले संविधान संशोधन गरेर देशको पक्षमा राम्रो सुरुआत भएको बताउनुभयो ।
