काठमाडौं । देशले रगत मागे मलाई बली चढाउ भनी गाेपाल याेञ्जनले गाएकाे गीत झैं भयाे अाज प्रतिनिधि सभा बैठक । मुलुककाे राष्ट्रियता, सार्वभाैमिकता र एकताकाे पक्षमा सांसद्हरुकाे तर्फबाट हुनुपर्ने एकता हाे । त्यस्ताे एकता अभुतपूर्व रुपमा सांसद्हरुले देखाएका छन् ।
प्रतिनिधि सभा बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ अर्थात् लुटिएकाे नेपाली भूमि समेटैर जारी गरिएकाे नयाँ मानचित्रप्रति सांसद्हरुले अभुतपूर्व एकता देखाउनुभएकाे छ ।
बैठकमा शान्ता चौधरीले खोसिएको नेपालको भूमि मानचित्रमा समेटिनु नै सबैभन्दा खुशीको क्षण भएको बताउनुभयो । ‘भौतिक रुपमा ढलौँला चितामाथि जलौँला तर जल्न दिदैनौं हाम्रो स्वाभिमान’ भन्दै उहाँले प्रतिवद्धता समेत जाहेर गर्नुभएको छ ।
त्यसैगरी सांसद् डिला संग्रौला पन्तले कांग्रेसको तर्फबाट यस विधेयकको सगरौव समर्थन गर्नुभयाे । हामी एउटा नयाँ इतिहास बनाउँदैछौं नयाँ बाटोमा हिडिरहेका छौं भन्दै उहाँले भन्नुभयो– ‘कुनै पनि राष्ट्र भूगोल र विकासको दृष्टिले सानोठूलो हुन सक्छ, धनी गरिब हुन सक्छ तर राष्ट्रियताको सवालमा कहीँ पनि चुक्दैन ।’
त्यसैगरी पूर्णकुमारी सुवेदीले संविधान संशोधन भइसकेपछि छिटो भन्दा छिटो कूटनीतिक वार्ता द्धारा सीमा समस्या समाधान गरी व्यवहारमा परिणत भएको हेर्न आम नेपाली जनता आतुर रहेको बताउनुभयो । सत्तापक्ष र प्रतिपक्ष भनेर विवाद गर्नुको कुनै औचित्य नरहेको भन्दै उहाँले यस ऐतिहासिक कार्य सफलता पूर्वक सम्पन्न गरेकाेमा सरकारलाई शुभकामना दिनुभयो ।
मानबहादुर विश्वकर्माले राष्ट्र र राष्ट्रियताका विषयमा नेपाली कांग्रेसले कहिले पनि देशलाई कमजोर हुन नदिने प्रतिवद्धता जाहेर गर्नुभयो । नेपाली कांग्रेसले राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा सधैं संस्थागत निर्णय गर्ने प्रतिवद्धता सधै पूरा गर्ने बताउनुभयाे ।
त्यस्तै गौरीशंकर चौधरीले सरकारले राम्रो सुरुवात गरेको भन्दै समर्थन जनाउनुभयो । नेपालको नक्सा सुधार गरेका छौं, सफल भएका छौं भन्दै निशान छाप संशोधन गरेर पूर्णता दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सुजाता परियारले आफू संविधान संशोधनको पक्षमा भएको जाहेर गर्नुभयो । कालापानी, लिपुलेक, लिम्पियाधुरा भूभाग फिर्ता ल्याउन सरकारले गरेको यो कार्य कोशेढुंगा सावित हुने उहाँले बताउनुभयो । उहाँले नेपालको नक्सा मात्र नभई भूमि नै फिर्ता ल्याएमा सरकारले गरेको यस कार्यले मूर्त रुप पाउने भन्दै शुभकामना दिनुभयो । यो साझा समस्या भएको कारण सबै एकजुट भई लाग्नुपर्ने उहाँको भनाइ छ ।
