काठमाडाैं । प्रतिनिधि सभा बैठक अाज एेतिहासिक बन्याे । सांसद्हरुकाे देशप्रेमी बाेली, बैठक कक्षकाे माहाेल, प्रधानमन्त्री केपी शर्मा अाेलीकाे मुहारमा झल्किएकाे खुशी र मन्त्रीहरुकाे अनुहारमा देखिएकाे भाव देख्दा यस्ताे लाग्याे - सायद अहिलेसम्मकै खुशी यही हाे, सुख यही हाे ।
मानचित्रले दिएकाे खुशीकाे त वर्णन गर्न सकिएन भने भूमि फिर्ता हुँदा खुशीकाे सीमा कहाँ पुग्ला ? सम्झँदा पनि गर्वले मुटु ढक्क फुल्छ ।सदनमा बाेल्ने सबै सांसद्हरुकाे बाेली अाज खुशीले लरबराएकाे थियाे । सांसद्हरुकाे बाेलीले जनताकाे छाती गर्वले चाैडा बन्याे ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएकाे मानचित्र अनुसार संविधानकाे अनुसूची ३ मा संशाेधन गर्न सरकारले पेस गरेकाे संविधान संशाेधन विधेयकमा सांसद्हरुले निकै सुन्दर र सकारात्मक विचार राखे ।
सांसद्हरुकाे बाेलीले सरकारलाई थप उर्जा मिलेकाे छ । एकताकाे पक्षमा उभिने ती सबै सांसद्लाई सलाम ।
कुमारी तुलसी थापा
सांसद् थापाले नेपालको गौरवपूर्ण इतिहास कायम राख्न र राष्ट्रिताको हितमा अग्रगामी पहल गरेको भन्दै दुई जना मन्त्रीलाई विशेष धन्यवाद् दिनुभयो । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्याल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेलाई उहाँले धन्यवाद् दिनुभएको हो । उहाँले भन्नुभयो – ‘उहाँ दुई जना मन्त्रीको हिम्मलाई सम्मान गर्छु र विधेयकको समर्थन गर्छु ।’
गगन थापा
सांसद् थापाले कालापानीबाट भारतीय फौज फिर्ता गर्न पहल गर्नुपर्ने बताउनुभयो । फौज हटाउन भनेर सदनमा नेकपा र कांग्रेसले दर्ताले गरेको संकल्प प्रस्तावलाई एउटै बनाएर पास गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘संविधान संशोधनसँगै मानचित्र मात्र होइन नेपाली भूमिबाट विदेशी सेना पनि हटाएर छाड्छौं भन्ने संकल्प प्रस्ताव सदनबाट पारित गरौं र भनौँ हामी सरकारसँगै छौं ।’
सो क्षेत्रमा नेपालको सार्वभौमिकता कायम गर्न गाह्रो भएपनि असम्भव नरहेको उहाँले बताउनुभयो । ‘नेपाली माटो जोगाउने मुद्दामा हामी सरकारसँगै छौं, प्रधानमन्त्रीे तयारी थाल्नुस्’ – थापाले भन्नुभयो । मानचित्रको पक्षमा सबै एकठाउँमा उभिएको बताउँदै उहाँले भन्नुभयो – ‘नेपाली भूभागबाट विदेशी सेना पठाउँन प्रण गरेका छौं र गर्छौं, तयारी थाल्न सरकारलाई शुभकामना ।’
खगराज अधिकारी
सांसद् अधिकारीले तत्कालीन नेकपा (एमाले) ले नै सुगौली सन्धि बमोजिम लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि भनेर आवाज उठाएको बताउँनुभयो । मिचिएका भूमिबाट भारतीय सेना हटाउन सदनमा दर्ता भएको संकल्प प्रस्ताव पारित गर्न माग गर्नुभयो ।
विदेशी सेना हटाउने विषयमा अाफूले नै संकल्प प्रस्ताव पारित गरेको स्मरण गर्दै उहाँले भन्नुभयो – ‘यो विषयमा सदनमा तीनवटा छन्, यीनलाई एउटै बनाउन हामी सहमत छौं, त्यसैले सबै विवाद भुलेर नेपाल एकताबद्ध छ भनेर संकल्प पास गरौं ।’
लिम्पियाधुरा, लिपुलेक र कालापानी मात्र होइन सुस्ता पनि नेपालको हो संसारको कुनै तागतले खोस्न सक्दैन भन्ने प्रस्तावप्रति आफ्नो पूर्ण समर्थन रहेको बताउनुभयो ।
दुर्गा पौडेल
अहिलेसम्मको सरकारले गर्न नसकेको काम वर्तमान सरकारले गरेको भन्दै सांसद् पौडेलले स्वागत गर्नुभयो । अतिक्रमित भूमिलाई मानचित्रमा उतार्नु सानो कदम नभएको भन्दै उहाँले सरकारको उपलब्धिपूर्ण र गर्व गर्न लायक कामको प्रशंसा गर्नुभयो ।
उहाँले सबै दललाई एक भएर प्रस्ताव पारित गर्न पनि आग्रह गर्नुभयो । संविधानको मुद्दा कुनै व्यक्तिको नभएर राष्ट्रको भएको बताउँदै उहाँले भन्नुभयो – ‘यो राष्ट्रियताको मुद्दा हो कुनै पार्टी वा व्यक्तिको होइन, वर्तमान सरकारले अहम् भूमिकासहित चालेको कदममा मतदान गरौँ र समर्थन जनाऔं ।’
भूमि हरहालतमा फिर्ता लिन सरकारलाई सबै जनताको साथ रहेको बताउँदै उहाँले कुटनीतिक वार्ताबाट भूमि फिर्ता नभए अन्तराष्टिय अदालतपनि जानुपर्छ । ‘सजिलैसँग भारतले भूमि फिर्ता दिइहाल्छ भन्ने मलाई लाग्दैन, यो मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालतमा पनि जानपर्ने हुन्छ’ – पौडेलले भन्नुभयो ।
प्रेम सुवाल
नेपाल मजदूर किसान पार्टीका सांसद् प्रेम सुवालले लिम्पियाधुराको उद्गस्थलमा नेपाल, भारत र चीनको त्रिदेशीय सीमा निर्धारण हुनुपर्ने बताउँनुभयो । महाकाली पूरै नेपालको भएको बताउँदै उहाँले भन्नुभयो – ‘त्यसैले महाकाली सन्धि खारेज हुनुपर्छ ।’ वार्ता गर्न भारतले अालटाल गरेकाे भन्दै उहाँले भारततर्फ सरकार सचेत हुनुपर्ने बताउनुभयो ।
मिनेन्द्र रिजाल
सरकार, राजनीतिक दल र जनताको अठोटले विधेयक आएको सांसद् रिजालले बताउनुभयो । नेपाल इतिहास निर्माण गर्ने क्रममा रहेको भन्दै उहाँले कसैको देवत्व र सत्तोसराप गरेर नभइ बुद्धि पुर्याएर काम गर्नुपर्ने बताउनुभयो ।
मानचित्र पारितसँगै अतिक्रमित भूमि फिर्ता ल्याउने काममा कसैलाई देवत्वकरण नगरी र लाञ्छना नलगाई सामूहिक रुपमा गर्नुपर्ने उहाँको भनाइ छ ।
अतिक्रमित भूमि फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैको साथ र सहयोग रहेको भन्दै उहाँले जसरी पनि नेपाली भूमि फिर्ता गरेर छाड्ने बताउनुभयो ।
