काठमाडौं । नेपालको संसदीय इतिहासमा २०७७ जेठ २७ सबैभन्दा सुखद दिन बन्यो । नेपालले १९६५ देखि गुमाएको आफ्नो भूमि समावेश गरेको मानचित्र समावेश गर्नेगरी संविधान संशाेधन प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
संसद्ले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितका भारतले मिचेको नेपाली भूमि समेटिएको नयाँ राजनीतिक मानचित्र अनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ ।
संविधान संसोधनमा कुनै विवाद भएन । बरु प्रतिनिधि सभा बैठकमा बोल्ने सांसद्को अभिव्यक्तिले अझ राष्ट्रिय एकतालाई बलियो बनाएको अनुभूत भयो ।
बैठकमा बोल्दै सांसद् विना श्रेष्ठले लामो समयदेखि एथेष्ट प्रमाण भएर पनि नेपालले गुमाएको भूमि समेटिएको मानचित्र प्रकाशित गर्ने एतिहासिक र गौरवशाली काम गरेकोमा धन्यवाद दिनुभयो । ‘नेपालीले सहासिक र गौरवपूर्ण कार्य गरेका छन्’ उहाँले भन्नुभयो । सांसद् गोपाल बहादुर वमले सुगौली सन्धिदेखिका सबै प्रमाणका आधारले प्रमाणित भएको नेपाली भूमि समेटिको मानचित्र सार्वजनिक भएकोमा खुसी व्यक्त गनुभयो । ‘भारतसँग हाम्रो दुश्मनी छैन, मित्रता छ, धोती र टोपीको नाता छ, रोजिरोटीको पनि सम्बन्ध छ भारत नजिकको गाउँले हो, भारतका मोदीलाई यो सन्देश जाओस्’,उहाँले भन्नुभयो ।
उहाँले भारत छिमेकी भएकोले संवादमार्फत अगाडी बढ्न आग्रह गर्नुभयो । ‘त्यसो गर्दा मानेन भने सेना प्रहरीलाई सिमानामा खटाएर कालापानीमा संसद् अधिवेशन गरौं’, उहाँको प्रस्ताव थियो ।
सांसद् अमनलाल मोदीले युगमा एक पटक आउने अवसरलाई अहिलेको सरकारले उपयोग गरेको बताउनु भयो । सरकारले राष्ट्रिय स्वाधिनताको पक्षमा काम गरेको उहाँको भनाई थियो ।
उहाँले देशको स्वाधिनताको रक्षाको लागि १८ वर्ष नाघेका सबै नागरिकलाई सैनिक कोर्स गराउन आग्रह गर्नुभयो । ‘हाम्रो स्वाधिनता प्रति भारतले गरेको व्यवहारले नयाँ प्रश्न उठाएको छ’, उहाँले भन्नुभयो ।
सांसद् विमला विकले संसारका नेपालीले सरकारको निर्णयको प्रसंशा गर्दै नेपाली भएकोमा गर्व गरेको बताउनुभयो । उहाँले विश्वभरका नेपालीको गर्वले शिर उचो भएको बताउनुभयो ।
‘नक्सामा ल्याएर हुँदैन भूमि ल्याउनु पर्छ भन्ने आवाज उठिरहेका छन्, नक्सामा समेत नभएको भूमि नक्सामा समावेश गर्नु महत्वपूर्ण काम हो’, उहाँले भन्नुभयो ।
वार्ताबाट भूमि फिर्ता गराउन सरकारले गर्ने कदमको सफलताको उहाँले कामना गर्नुभयो । ‘जनताले लिपुलेक लिम्पियाधुरा र कालापानी हाम्रो हो भनिरहेको बेला यो भूमि हाम्रो हैन भन्ने अभिव्यक्ति आइरहेको छ, जनताको नुन र कर खाएर बाँचेका हामी जनप्रतिनिधिले यसको विरुद्धमा बोल्न पाइँदैन’, उहाँले राष्ट्रिय स्वाधिनताको विपक्षमा बोल्नेलाई चेतावनी दिँदै भन्नुभयो ।
सांसद् रामकुमारी झाँक्रीले तीन दशक पछि नेपालले आफ्नो भूभाग नेपालको मानचित्रमा समेट्न सफल भएको बताउनुभयो । अब नेपाली भूमिमा प्रशासनिक र राजनीतिक उपस्थितिको काम थाल्नु पर्ने उहाँको भनाई थियो ।
झाँक्रीले भन्नुभयो, ‘सुगौली सन्धिको इतिहास नेपालले हारेको हो वा जितेको हो उत्खनन् भएको छैन, अब इतिहासको फेरी उत्खनन गर्नु आवश्यक छ, इतिहासको अधारमा हाम्रा सन्तानले टिष्टा र काँगडासम्म दावी गर्ने छन् ।’
सांसद राजेन्द्र प्रसाद गौतमले मदन भण्डारीको देशको एकइञ्च भूमि पनि विदेशीलाई नदिने भनाई स्मरण गर्दै लिपुलेक क्षेत्र हाम्रो हो भन्ने प्रमाण भएको बताउनुभयो । जनताको भावनाको कदर गर्दै प्रधानमन्त्रीले संवादमार्फत नेपालको भूमि फिर्ता लिन सफल हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
