काठमाडौं । विरलै हुन्छ देशमा यस्ताे अपूर्व एकता जुन अाजबाट नेपालमा शुरु भएकाे छ । नेपालले जारी गरेकाे नयाँ मानचित्रलाई संविधानमा अंकित गर्न ल्याइएकाे संविधान संशाेधन विधेयककाे पक्षमा प्रतिनिधि सभा अाज एकढिक्का भएकाे छ । अाजकाे बैठकमा सांसद्हरुले राष्ट्रियता र नेपालकाे अखण्डताकाे पक्षमा देशलाई लामाे समयसम्म मार्गनिर्देशन गर्ने विचार व्यक्त गरेका छन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा समेटिएको निशान छाप परिवर्तन सम्बन्धी संविधान संसोधन प्रस्ताव ल्याएकोमा प्रतिनिधिसभाका सदस्यहरुले सरकारलाई धन्यवाद दिएका छन् ।
मंगलबार संविधानको दोस्रो संसोधन प्रस्ताव–०७७ बारे बोल्ने नेकपाकी सांसद बिन्दा पाण्डेले देशभक्त नागरिकका लागि सावैभौकिता, अखण्डता र स्वाधीनता जीवनभन्दा प्यारो हुने बताउनुभयो ।
निशाना छापमा लिम्पीयाधुरा सहितको भूभाग राख्न सफल भएकोमा सरकारलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो–‘अतिक्रमित भूमि फिर्ता गर्ने कुरा समान सार्वभौमिताको आधारमा हुनुपर्छ, वार्ताका लागि ऐतिहासिक प्रमाणका साथमा तयारी गर्न सरकारलाई आग्रह गर्न चाहन्छु ।’
नेपाल भारतको बीचमा अहिले देखिएको मुख्य मुद्दा काली नदीको मुहान तय गर्ने बारेमा भएको उल्लेख गर्दै पाण्डेले अतिक्रमित भूमि फिर्ता ल्याउन वार्ताको वतावरण तयार गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले भारतले अतिक्रमण गरेको भूमि छिटो फिर्ता ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।
‘नेपाली भूमि फिर्ता ल्याउने सवालमा राजनितीक दलहरु बिचमा विवाद र आरोप प्रत्यारोप गर्नु हुँदैन’ उहाँले भन्नुभयो–‘सबै दल एक भएर अतिक्रमित कालापानी, लिपुलेक र लिम्पीयाधुरा फिर्ता ल्याउनुपर्छ ।’
सांसद आशाकुमारी बिकले निशाना छाप परिवर्तनका लागि सरकारले संसोधन प्रस्ताव ल्याएकोमा धन्यवाद दिँदै नेपाली जनता शिर ठाडो पारेर गर्वको साथ हिँडेको बताउनुभयो । उहाँले भन्नुभयो–‘नक्सा संसोधन त भयो, भूमि पनि फिर्ता लिनेमा हामी ढुक्क छौं ।’
सांसद लक्ष्मी कुमारी चौधरीले सरकारलाई धन्यवाद दिँदै भन्नुभयो–‘आज मेरो छाती गर्वले चौडा भएको छ ।’
अतिक्रमित भुमि फिर्ता ल्याउने सवालमा सत्तपक्ष र प्रतिपक्ष एक भएको बताउँदै उहाँले भन्नुभयो–‘जनता खुसी भएका छन्, सुगौली सन्धीमा महाकालीको पूर्वी भाग नेपालको भनेर दुवै देशले हस्ताक्षर गरेका छन् ।’
कुटी, गुञ्जी र नाभी नेपालको भूभाग भएको तथ्य प्रमाणले बोलेको भन्दै सरकारले खुट्टा कामउनुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
नेकपाका सांसद नवराज सिलवालले संसोधन प्रस्ताव ऐतिहासिक कदम भएको बताउनुभयो । ‘सन् १८१६ को सुगौली सन्धीले कालापानी नेपालको हो भनेर किटीसकेको अवस्था छ, हाम्रो ठूलो प्रमाण सुगौली सन्धी हो’ सिलवालले भन्नुभयो–‘कालापानीबाट भारतीय सेना हट्नुपर्छ, त्यसका लागि कूटनीतिक संवाद गर्नुपर्छ ।’
नेपाल कहिल्यै कसैको अधिनस्थ नरहेको भन्दै सरकारले अतिक्रमित भूभाग फिर्ता ल्याउन चालेको कदमले सारा नेपालीलाई गौरवान्वित बनाएको बताउनुभयो ।
सांसद गजेन्द्र बहादुर महतले संविधान संसोधन प्रस्तावमा आफ्नो पूर्ण समर्थन रहेको बताउनुभयो । भट्मिठ फिर्ता ल्याउन प्रमाण जुटेको भन्दै उहाँले त्यहाँका जनताको जिविकाको सवालमा पनि सरकारले सोच्नुपर्ने बचाउनुभयो ।
