काठमाडौं । बरु हातगाेडा काटिएकाे सहन्छाै तर देश टुक्रिएकाे सहँदैनाै । याे विचार राख्नुभएकाे हाे नेकपाका सांसद् महेश बस्नेतले प्रतिनिधि सभाकाे मंगलबार भएकाे एेतिहासिक बैठकमा ।
संविधान संशोधन विधेयक माथिको छलफलमा सदनमा उपस्थित हरेका पार्टीका सांसद्हरुले सहमति तथा समर्थन जनाउनुभयो । इतिहासमा नै पहिलो पटक सम्पूर्ण प्रतिपक्षी दलका सांसद्हरुले सहर्ष सरकारले ल्याएको विधेयकको समर्थनका साथ स्वागत गर्नुभयो । यसरी एक ढिक्का भएर सरकारको पक्षमा उभिएका सांसद्हरुको सक्रियताले आम जनतामा समेत नयाँ आशाको किरण छरिदिएको छ । आफूले चुनेर पठाएको जनप्रतिनिधिमा आशा गर्ने थप विश्वास प्रदान गरेको छ ।
छलफलका क्रममा नेकपाका सोम प्रसाद पाण्डेले आम जनताको सिंगो सहमति अनुसार संविधान संशोधन गरिरहेको बताउँदै धेरै छलफल गर्न आवश्यकता नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘जुन भूभाग हामीले संविधानको अनुसूची ३ मा जोड्दैछौं, निशान छापमा नक्सामा जोड्दैछौं, यो कुनै नयाँ विषय अथवा नयाँ भूभाग जोडिएको होइन ।’ भूभागको विषयमा चाहे त्यो १८१६ को सुगौली सन्धीको कुरा होस्, २०१५ सालको आम निर्वाचनमा त्यो क्षेत्रबाट निर्वाचन गर्दा उठेका जनप्रतिनिधिलाई दिएको मतको आधार होस् अथवा २०१८ सालमा जस्ले चाहिँ त्यहाँको जनगणना गरेको छ उहाँको आधारमा होस्, यी सबै तथ्यले हाम्रो कालापानी, लिम्पियाधुरा र लिपुलेक भूभाग नेपालको हो भन्ने पुष्टि गर्ने उहाँले बताउनुभयो ।
यसैगरी नेकपाका सांसद् गणेश सिंह ठगुुन्नाले यस विधेयकको समर्थन गर्दै ऐतिहासिक प्रस्ताव संसद समक्ष प्रस्तुत गरी नेपाली जनताको स्वाभिमानको जगेर्ना गर्नुभएकोमा सरकारलाई विशेष धन्यवाद् दिनुभयो । उहाँले यो प्रस्तावलाई ऐतिहासिक रुपमा अगाडि बढाउनका लागि भूमिका खेल्नुभएकोमा नेकपा लगायत प्रतिपक्षी दलका सांसद्लाई धन्यवाद् दिनुभयो ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो भूभाग कूटनीतिक पहल गरी फिर्ता ल्याएर आफ्नो नाम इतिहासमा अमर गर्नको लागि शुभकामना दिनुभयो ।
नेपाली कांग्रेसले यस संशोधनको समर्थनमा, नक्सा परिमार्जन गर्ने विषयमा एक मतले समर्थन गरिसकेको भन्दै उहाँले जमिन हाम्रो हो भनेर प्रश्न नगरी अब जमिन कसरी हासिल गर्ने तर्फ ध्यान दिन सरकारलाई सुझाव समेत दिनुभयो ।
नेपाल आमाको सन्तान भएको कारण बिना गृहनीति, बिना गृहकार्य कदाचित आफ्नो पार्टी समेतलाई विश्वासमा नलिकन गरिएको कार्यलाई समर्थन गरिएको उहाँको भनाई छ ।
छलफलका क्रममा केही सांसद्हरुले नेपाली भूमि फिर्ता ल्याउनका लागि आफ्नो ज्यान समेत दिन तयार भएको अभिव्यक्ति दिनुभयो । ती मध्येका एक सांसद् हुन् – महेश बस्नेत । उहाँले भन्नुभयो–‘हाम्रो शरीर टुक्रेको हामी हेर्न सक्छौं । हाम्रो हातगोडा टुक्रिएको हामी हेर्न सक्छौं । नेपाल टुक्रिएका हामी हेर्न सक्दैनौं । अब त्याे भूभाग फिर्ता लिन्छाैं ।’
नेपाल सरकारका तर्फबाट नेपालका महानायक प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नेपालको हराएको भूभाग नेपालको टाउकोको रुपमा नेपालको नक्सामा जोडेर ल्याएर संविधान संशोधन गर्नुभएको भन्दै उहाँले आभार प्रकट गर्नुभयो । साथै संशोधनलाई समर्थन गर्नुहुने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई समेत उहाँले धन्यवाद् दिनुभएको छ ।
संविधान संशोधनको विषयमा सिंगो नेपाल एक ढिक्का भएको भन्दै उहाँले हाम्रो सार्वभौमसत्तालाई कुनै हालतमा गिर्न नदिने प्रतिबद्धता जनाउनुभयो । आफ्नो राष्ट्रियतालाई कुनै पनि हालतमा बचाउने उहाँको भनाई छ ।
उहाँले त्यो भूभागलाई फिर्ता ल्याउन सरकारले आवश्यक कूटनीतिक पहल, सेना तथा प्रहरी परिचालन, विकासका गतिविधि तथा त्यहाँका जनताको सुख दुखमा साथ दिओस् भन्ने सुझाव समेत राख्नुभयो ।
यसैगरी नेकपाका अर्का सांसद् झपट बहादुर रावलले समेत नेपाली भूमिलाई जोगाउनका लागि आहुति दिन तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीलाई कसैको एक इन्च भूमि पनि चाहिएको छैन् ,हाम्रो भूमिका बारेमा कसैले धावा बोल्छ भने बरु मर्न तयार छौं ।’ उहाँले वास्तविक सीमा सरकारी विधेयकका रुपमा आएको यस विधेयकले नेपालीको शिर उच्च भएको बताउँदै भन्नुभयो– ‘नेपालको भौगौलिक अखण्डताका रक्षाका लागि सरकारले चालेका कदमको उच्च सम्मान गर्न चाहन्छु ।’
संविधान संशोधनबाट नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउने ऐतिहासिक कर्तव्य पूरा गर्ने महान कार्यमा सहभागी हुन पाउँदा आफू अत्यन्त खुशी भएको उहाँले बताउनुभयो । कसैको उपनिवेशमा नपरेको राष्ट्रको नागरिकको शिर उच्च बनाउने जिम्मेवारी सदनको हो भन्दै उहाँले पूर्खाको रगतले कायम गरेको सीमाना जोगाउने कर्तव्य सबैको रहेको बताउनुभयो ।
यस्तै सांसद् सरिता कुमारी गिरीले नयाँ निशान छापका लागि गरिरहेको दोस्रो संविधान संशोधन कार्य प्रति सरकारको आँटको प्रशंसा गर्नुभएको छ । यस प्रकारको ऐतिहासिक कार्य आफ्नो कार्यकालमा भएकाले सबैले गौरवान्वित महसुश गरेको उहाँले बताउनुभयो ।
कति सरकार आए कति सरकार गए तर जुन काम जहिले हुनु पर्ने थियो त्यहीले भयो भन्दै उहाँले यस कुरामा सबैले विश्वास गर्नुपर्ने बताउनुभयो ।
सीमा विवादका कारण कुनै पनि नेपाली नागरिक घाइते हुनुनपरोस् भन्ने हेतु सरकारले हाल जारी गरेको सही नक्सा र निशाना छापका लागि गरेको संविधान संशोधनको पर्खाइमा तीन करोड नेपाली जनता पर्खिरहेको उहाँले बताउनुभएको छ ।
रोजी रोटिको सम्बन्ध आफ्नो ठाउँमा छ तर आफ्नो माटो, सीमा , जग्गा, सम्पत्ति कसैलाई त्यत्तिकै छोडन् हुँदैन् भन्दै उहाँले सीमाका लागि कसैसँग पनि सम्झौता नगरी लड्न तीन करोड नेपाली जनता तयार भएको बताउनुभयो ।
