काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय अभ्यासमा कम मात्रै देखिने राष्ट्रिय एकता नेपालको संसदमा मंगलबार देखिएको बताउनु भएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा विनियोज शिर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अप्ठेरो बेलामा राष्ट्र एक हुने नेपाली चरित्रलाई प्रतिनिधि सभाले प्रतिविम्वित गरेको बताउनुभयो ।
‘संसदीय अभ्यासमा यस्ता राष्ट्रिय एकताका परिस्थितिहरु कहिले कहिले मात्र देख्न पाइन्छ, हाम्रो संसद् यस मामलामा अत्यन्त गम्भीर छ, परेका बेला राष्ट्रिय समस्या र राष्ट्रका सामु आएका चुनौतीको सामना गर्न हाम्रो संसद जिम्वेवार छ, एकता भएर सिंगो राष्ट्रलाई हाँक्नसक्छ भन्ने कुरा प्रमाणित गरेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । नेपालको मानचित्र संविधानमा अंकित गर्न ल्याइएको विधेयक उपरको छलफलमा मंगलबार प्रतिनिधि सभामा जुन असाधारण राष्ट्रिय एकता देखियो त्यस प्रति आफूले गर्व गरेको प्रधानमन्त्रीले बताउनुभयो । ‘आज हाम्रा अगाडिका चुनौतीको सामना गर्न, चाहे त्यो राष्ट्रियता, चाहे कोभिड १९ अथवा यसले उत्पन्न गरेका विभिन्न जटिलताको सामना गर्न जुन राष्ट्रिय एकता र साझा प्रयास आवश्यक छ त्यो हिजोको सभामा देखा पर्यो, त्यस एकता प्रति म गर्व गर्दछु’, उहाँले भन्नुभयो ।
संसद भित्र मात्र नभई बाहिर पनि राष्ट्रियताको सवालमा देखिएको एकता प्रति उहाँले खुसी व्यक्त गर्नुभयो । ‘पूर्खाले लडेर आर्जेको मुलक, हामीले अडेर जोगाउन आवश्यक छ’, उहाँले भन्नुभयो ।
‘कसैले जस पाउला वा कोही जस पाउनबाट छुट्ला कि भन्नु पर्दैन, हामी फराकिलो भावनाका साथ अघि बढेका छौँ, हामीले सबैका भावनाको सम्मान गरेका छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । जे प्रयोजनका लागि संविधान संशोधन गर्न लागिएको हो त्यसको जस र श्रेय सबै सांसद्लाई जाने, सबै पार्टीलाई जाने उहाँले बताउनुभयो ।
लिपुलेक कालापानीको विषय उजागर गर्न विगतदेखि नै कैयन विद्धानहरु, अभियन्ताहरु लागिरहेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अपूर्व राष्ट्रिय एकता देखाएकोमा सांसद्हरुलाई, राजनीतिक दलहरुलाई तथा आम जनतालाई धन्यवाद दिँदै आभार प्रकट गर्नुभयो ।
अहिलेको विपत्ति विरुद्धको लडाईँमा प्रत्यक नेपाली एक हुनु पर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । विश्व आक्रान्त भएको बेला नेपालमा प्रतिकूल असर पर्नु अस्वाभाविक नभएको उहाँको भनाई छ ।
