काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेलाई सरकारले सजाय दिने बताउनुभएको छ ।
विनियोजन विधेयकमाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले बाहिर सुनेको भरमा सरकारलाई आरोप नलगाउन आग्रह गर्नुभयो ।
संसद्मा केही सांसद्ले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया अनियमितता भएको भन्दै आरोप लगाएका थिए । उनीहरुकाे प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री अाेलीले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भयो भनेर सुनेको भरमा आरोप नगलाउन आग्रह गर्नुभएको हो ।
सरकालाई लान्छित गर्ने खालकाे रुचि तथा प्रवृत्तिमा नबग्न अनुरोध गर्दै उहाँले कहिँ कतै यदि अनियमितता भएको छ भने यस सरकारले कारवाही गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –‘याे सरकारले कुनै प्रकारको अनियमितता, अपारदर्शिता, भ्रष्टाचार जस्ता कुराहरुलाई सहँदैन , त्यस्तोमा कारवाही गर्छ नै, छानविन गर्छ ,कारवाही गर्छ कानुनको कठ्घरामा उभ्याउँछ ।’ दोषी पाइएमा सरकारले सजाय दिन्छ भन्दै उहाँले ढुक्क रहन आश्वस्त पार्नुभयो ।
विगतमा भ्रष्टाचार हुने गरेकाे तर कारवाही नहुने तर अहिले भ्रष्टाचार भयाे भने कारवाही हुन्छ, त्यसैले भ्रष्टाचारकाे घटना प्रकाशमा अाउने गरेकाे उहाँले बताउनुभयाे । विगतकाे र अहिलेकाे फरक बुझ्न पनि उहाँले अाग्रह गर्नुभयाे ।
