काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् १९५० मा भएको नेपाल भारत सन्धि अपमानजनक भएको घोषणा गर्नभएको छ ।
प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सो सन्धि नेपालले नमानेको भए पनि पालना भने गरिरहेको बताउनुभयो ।
एमसिसीबारे सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विगतका सरकारहरुले गरेको कामको जिम्मेवारी अविच्छिन्न उत्तराधिकारीको हैसियतले पछिल्लो सरकारले लिनुपर्ने बताउनुभयो । एमसिसीलाई पनि यही रुपमा बुझ्न उहाँले आग्रह गर्नुभयो ।
१९५० को सन्धि संशोधनका लागि विज्ञ समूह बनाइएको र त्यसको प्रतिवेदन भारतलाई पहिले बुझाइने भनिएकोमा भारतले नबुझेको जानकारी दिनुभयो । ‘नेपालले पहिले बुझ्ने भनिएको भए हामी बुझ्थ्यौं, तर, हामीले बुझेर पनि भारतले नबुझेको भए अधुरो हुन्थ्यो ।’
‘नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन’– प्रधानमन्त्री ओलीले भन्नुभयो । भारतको एक राज्यका मुख्यमन्त्रीले नेपाल विरुद्ध बोलेको विषयमा एक सांसद्ले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भन्नुभयो– ‘उहाँले बोलेको हो भने गलत हो । हामीलाई मान्य छैन । नेपाललाई धम्की दिएको हो भने निन्दनीय विषय हो ।’
