काठमाडाैं । आगामी आर्थिक वर्ष ०७७-०७८ काे विनियोजन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाकाे बुधबार बसेकाे बैठकले विधेयक पारित गरेकाे हाे ।
अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोड रुपैयाँको बजेट पेस गर्नु भएकाे थियाे ।
सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएकाे विधेयक बहुमतले पारित भएको हो ।
यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा साे विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख सापकाेटाले साे प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । बजेटमा सत्तापक्षका सांसद्ले मात्र मत दिए ।
विनियोजन विधेयकमाथि प्रतिपक्षी सांसद्ले राखेका २६ वटा खर्च कटौतीसम्बन्धी प्रस्तावलाई सभाको बहुमतले अस्वीकृत गर्यो ।
सांसदहरु दुर्गा पौडेल, पुष्पा भुसाल, प्रेम सुवाल, उमा रेग्मी, सञ्जय कुमार गौतम, उमाकान्त चौधरी, लक्ष्मी परियार, सुजाता परियार, रंगमती शाही, मिनेन्द्र रिजाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबु कुमार यादव, डिला संग्रौलाले खर्च कटाैतीकाे प्रस्ताव राख्नु भएकाे थियाे ।
यस्तै राजेन्द्रकुमार केसी, देवेन्द्रराज कँडेल, मिनबहादुर विश्वकर्मा, पार्वता डि.सी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेन्द्र बहादुर कार्की, गगन थापा, अतहर कमाल मुसलमान,डा.नारायण खड्का, दिलेन्द्र प्रसाद बडु, भिमसेन दास प्रधान र प्रकाशमान सिंहले खर्च कटौती सम्बन्धी प्रस्ताव राख्नुभएको थियो ।
विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि यही जेठ २३, २४ र २५ गते सदनमा छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जेठ २७ र २८ गते जवाफ दिनुभयो ।
प्रतिनिधि सभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका शीर्षकमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिनुभयो ।
