काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएकाे नेपालको नयाँ मानचित्रले सारा नेपालीकाे छाती गर्वले फुलेकाे छ । नेपालमा मात्र नभएर विश्वभर छरिएका नेपालीकाे मुहारमा खुशी छाएकाे छ । सारा नेपाली गर्ववान्ति भएका छन् ।
सारा नेपाली एक हुँदा पनि नेपालीको भावनामा लात हान्दै मानचित्रविरुद्ध हुनुहुन्छ जनता समाजवादी पार्टी नेपालकी सांसद् सरिता गिरी । सरकारले नयाँ मानचित्र बनाउँदा स्रोत र प्रमाण नखुलाएकाले दाबी गर्दै गिरीले बुधबार सघीय संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराउनु भएकाे छ ।
नयाँ मानचित्र अनुसार संविधानको अनुसूची ३ मा राखिएको निशान छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन विधेयक सदनमा पेस गरेकाे छ ।
सांसद गिरीले संघीय संसद् सचिवालयमा दर्ता गराएकाे साे विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राख्नुभएकाे छ । संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन आग्रह गरिएको छ।
प्रतिनिधि सभाकाे मंगलबार बसेकाे बैठकमा मानचित्रसम्बन्धि नेपालकाे संविधान दाेस्राे संशाेधन विधेयक पेस भएकाे छ । विधेयकमाथिकाे छलफलमा भाग लिँदै सांसद्हरुले खुशीले गला अवरुद्ध पार्दै समर्थन जनाएका थिए । उनीहरुले यसको मुक्तकण्ठले स्वागत गर्दै सरकारलाई उर्जा दिएका थिए ।
सरिताकै पार्टीका सांसद् राजेन्द्र श्रेष्ठले समेत विधेयकमा पूर्ण समर्थन जनाउनुभयाे । राष्ट्रिय जनता पार्टीका सांसद् लक्ष्मणलाल कर्णले पनि पूर्ण समर्थन जनाउनुभयाे ।
सामान्य छलफलपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालकाे संविधान (दाेस्राे) संशाेधन विधेयकमाथि विचार गरियाेस् भनेर पेस गर्नुभएकाे प्रस्ताव तालीकाे गडगडाहटसँगै पारित भयाे ।
विधेयकमा संशोधन दर्ता गराउन मंगलबार साँझदेखि ७२ घण्टाको समय दिइएको छ । गिरीले साेही समयमा संशाेधन दर्ता गर्नुभएकाे हाे ।
सांसद् गिरीले मानचित्र जारी भएदेखि नै सरकार, नेपाल र नेपाली विरुद्ध र सदनमा समेत विवादीत अभिव्यक्ति दिँदै अाउनु भएकाे छ ।
सांसद् गंगा चाैधरीले नेपालकाे संरसद्मा भारतीय चेलीकाे दादागिरी चल्न थालेकाे बताउनु भएकाे थियाे । साे अभिव्यक्तिकाे खण्डन गर्दै गिरीले उल्टै गंगालाई अाराेप लगाउनुभयाे - कतै चीनकाे इसामा भारतीय चेलीमाथि अाराेप लगाइएकाे त हाेइन ?
संशाेधनमा प्रमाण पुगेन भन्नुले पनि उहाँ मानचित्रविरुद्ध रहेकाे प्रष्ट हुन्छ । राष्ट्रियताविरुद्ध बाेल्ने गिरीलाई कारबाही गर्न राष्ट्रिय युवा संघ र तरुण दलले अाग्रह गरेका छन् ।
गिरीकै पार्टीले समेत उहाँको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । प्रस्ताव फिर्ता नलिए पार्टीले कारबाही गर्ने समेत चेतावनी दिएको छ ।
