काठमाडौं । नेपालमाथि भारतले दादागिरी गरिरहेको सांसद् राधेश्याम पासवानले बताउनुभएको छ ।
बुधबार बसेका राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद् पासवालने भारतले अन्तर्राष्ट्रिय कानुनअनुसार पनि निन्दनीय काम गरेको बताउनुभयो । नेपालको धेरै जमिन भारतले मिचेको समेत उहाँले बताउनुभयो ।
‘लिपियाधुरा, लिपुलेक, कालापानी लगायत भूमि नेपालको हो, नेपाल कहिलै कसैको उपनिवेश भएन, भारतले कालापानीमा सडक बनाउँदा नेपाललाई सोधेको छैन, भारतले जहिले पनि दादागिरी हिसाबमा आफ्नो मनोमानी गर्छ’- उहाँले भन्नुभयो ।
सुगौली सन्धिअनुसार कालीपूर्वको भूमि नेपालको भएको उहाँले बताउनुभयो । नेपालको धेरै ठाउँको भूमि भारतले कब्जा गरेको पासवानको भनाई छ ।
झापाको महेशपुर, कञ्चनपुरको सुकम्बासी गाउँ लगायत नेपालको धेरै जग्गा भारतले मिचेको उहाँले बताउनुभयो । एउटा समिति बनाई छानविन गरेर नेपालको जमिन फिर्ता लिनुपर्ने उहाँले बताउनुभयाे ।
आफ्नो जग्गाको स्वामित्वका लागि लड्नुपर्ने र सबै संगठिन भएर अघि बढ्नु पर्ने पासवानले बताउनुभयो । अहिलेको सरकारले नेपालको भूमि फिर्ता लिने कुरामा लिएको अडानको उहाँले प्रशंसा गर्नुभयो ।
