काठमाडाैं । सांसद् सुमनराज प्याकुरेलले कठिन परिस्थितिमा पनि सरकार काेराेना विरुद्ध लडिरहेकाे बताउनु भएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बोल्दै उहाँले कहालीलाग्दो विरासतमाथि उभिएर सरकार कोरोनाविरुद्ध लडिरहेको बताउनुभयो । यस्ताे अवस्थामा पनि सरकारले धेरै राम्राे काम गरेकाे उहाँले बताउनुभयाे ।
विश्वका अधिकांश मुलुकमा परीक्षण कीटको अभाव रहेको तथा विकसित देशहरुमा समेत भेन्टिलेटर, आईसीयू र आइसोलेशनको अभाव रहेको उहाँले बताउनुभयाे ।
भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको पनि उहाँले बताउनुभयाे । ‘भारत वा अन्य देशबाट नेपाली नागरिक आउने क्रम नचलेको भए नेपाल कोरोनामुक्त देश हुन्थयो की ?’- उहाँले भन्नुभयाे ।
युरोप अमेरिका जस्ता देशहरुले समेत काेराेना व्यवस्थापन गर्न नसकेको बताउँदै उहाँले भन्नुभयाे - 'नेपाल सरकारले जेनतेन व्यवस्थापन गरिरहेको छ ।'
सरकार काेराेनाविरुद्ध मैदानमा डटेर लडिरहेकाे सांसद् प्याकुरेलले बताउनुभयाे । सडकमा कांग्रेसबारे अनेक हल्ला चलेकाे बताउँदै उहाँले भन्नुभयाे - 'सडकमा मानिसहरुले कांग्रेस न अाफू गर्छ न अरुले गरेकाे सहन्छ ।'
सरकारविरुद्ध अफवाह फैलाउनुभन्दा जनताकाे घर अागनमा गएर सकरात्मक सन्देश दिन र सहयाेग गर्न प्रतिपक्षीलाई उहाँले अाग्रह गर्नुभयाे ।उहाँले काेराेनाविरुद्ध लड्न सबै एक हुनुपर्ने बताउनुभयाे ।
