काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षको बजेट भोकमरी रोक्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
बिहिबार राष्ट्रिय सभामा विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै भोकमरीलाई सम्बोधन गर्ने र सानातिना गतिविधिलाई मात्र सहयोग गर्ने गरी बजेटलाई अघि बढाउनु पर्ने सांसद् देवले बताउनुभयो ।
बजेटले कृषि र रोजगारीलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ । ‘बजेटले जुन विषयलाई बढी जोड दिनु पर्ने हो, त्यसमा दिन सकेन’, उहाँले भन्नुभयो ।
सरकारले लिएको सात प्रतिशतको विकास लक्ष्य कुनै पनि हालतमा पुरा हुन नसक्ने बताउँदै उहाँले विश्व बैंकले समेत नेपालको जीडीवी २.५ प्रतिशतभन्दा माथि जान नसक्ने भनेको अवस्थामा धेरै महत्वकांक्षी नबन्न आग्रह गर्नुभयो ।
आफूहरु कहिलै पनि ध्वंसको पक्षमा नरहेको बताउँदै देवले सबै मिलेर बजेटलाई कार्यान्वयन गर्न र विकासका लक्ष्यलाई धेरै भन्दा धेरै माथि पुर्याउने गरी लाग्न आग्रह गर्नुभयो ।
