काठमाडाैं । राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले सुनकोसी डाइभर्सनको लागि बजेट अपर्याप्त भएको बताउनु भएको छ ।
सुनकोसीको पानी सुरुङमार्गबाट मरिणमा निकाली तराईलाई संचित गर्ने उदेश्यले आयोजनाकाे योजना बनाइए पनि सोही अनुसार बजेट नगएको उहाँले बताउनुभयो ।
बिहीबार राष्ट्रिय सभामा विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै अधिकारीले आयोजनाको हेडबक्स र सुरुङ समेत बनाउने कुरा सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए पनि सो अनुसारको बजेट विनियोजन नभएको उहाँले बताउनुभयो ।
पर्याप्त बजेट नछुट्टिएको कारण कार्यक्रममा आए अनुसारको काम नहुने उहाँले बताउनुभयो । सरकारले अहिले छुट्याएको बजेटले मुआब्जा दिन पनि नपुग्ने उहाँको भनाई छ ।
‘सो आयोजनाका प्रमुखले नै भनि सक्नुभयो कि, अहिलेको बजेटले मुआब्जा दिन पनि पुग्दैन’, उहाँले भन्नुभयो ।
शिक्षा सम्बन्धी कुरामा राष्ट्रपतिलाई कार्यकारी अधिकारी दिने गरी बजेट विनियोजन गरिएको उहाँले आरोप लगाउनुभयो । शिक्षाको ठूलो बजेट राष्ट्रपति कार्यालयमा छुट्याइएकोले त्यो बजेटमा बदमासी भयो भने राष्ट्रपति र राष्ट्रपति कार्यालय तानिने बताउनुभयो ।
अधिकारीले आर्थिक क्षेत्रको मूल आधार कृषि भएकोले कृषिलाई प्राथिमकतामा राख्नु पर्ने बताउनुभयो ।
उहाँले फलफूल, तरकारी र पशुको न्यूनतम मूल्य तोकेर खरिद गरिदिनुपर्ने बताउनुभयो । भण्डारणको लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले भण्डारगृह बनाउने जिम्मा सहकारीलाई दिएर नहुने बताउनुभयो ।
