काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको सन्तुलित विकासको लागि कुनै एउटा क्षेत्रलाई मात्र चलायमान बनाएर नहुने बताउनु भएको छ ।
समग्रतामा हेरेर मात्रै कुन क्षेत्रमा कसरी काम भएको छ भन्ने थाहा हुने उहाँले बताउनुभयो ।
बिहीबार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै डा.खतिवडाले जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । नागरिकको जीवन रक्षा गर्दै आर्थिक उन्नतिमा लाग्ने गरी अहिलेको बजेट आएको उहाँको भनाई छ ।
राष्ट्रपति वा प्रधानमन्त्रीको नाममा आयोजना आए पनि ती कार्यक्रम सरकारका कार्यक्रम भएकाले यसमा विमती नजनाउन उहाँले आग्रह गर्नुभयो ।
महामारी र रोगको विरुद्ध एक्यवद्ध भएर लड्नु पर्ने बताउँदै यसको लागि सांसद्ले सरकारलाई खबरदारी गर्नु पर्ने उहाँको भनाई छ । स्वास्थ्य क्षेत्रमा भएको खर्च पारदर्शी हुने भएकोले धेरै नआत्तिन उहाँले आग्रह गर्नुभयो । बजेटलाई अझ महिला, बालबालिका तथा अपाङ्मैत्री बनाएर कसरी खर्च गर्न सकिन्छ भन्ने विषयमा सबै लाग्नु पर्ने उहाँले बताउनुभयो ।
अर्थमन्त्रीले जवाफ दिएसँगै प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोज विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत भएको छ ।
