काठमाडाैं । प्रतिनिधि सभाकाे अाज बस्ने बैठक विशेष हुँदैछ । एेतिहासिक हुँदैछ । बैठकबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएकाे मानचित्रसम्बन्धि संविधान संशाेधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी, कुटी, नावी, गुञ्जी, लगायत भारतले अतिक्रमण गरेका भूमि समेटेर निकालिएकाे मानचित्रलाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।
छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै साे विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सबै दलकाे समर्थन रहेकाले विधेयक दुई तिहाइ बहुमतले पारित हुने पक्का छ ।
जेठ २७ गते बसेकाे प्रतिनिधि सभामा बैठकमा विधेयकमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै सबै दलहरुले विधेयकको समर्थन गरेका थिए । उनीहरुले भूमि फिर्ताका लागि अगाडि बढ्न सरकारलाई अाग्रह गरेका थिए । नेपालकाे भूमि भारतले जसरी पनि फिर्ता गर्नुपर्ने उनीहकाे भनाइ थियाे ।
जनता समाजवादी पार्टीकाे शुक्रबार बसेकाे पदाधिकारी बैठकले विधेयककाे पक्षमा मतदान गर्ने निर्णय गरेकाे थियाे । जसपाकी सांसद् सरिता गिरीले संशाेधनकाे सूचना दर्ता गराउनु भएकाे छ । पार्टीले फिर्ता लिन निर्देशन दिएपनि अहिलेसम्म उहाँले फिर्ता लिनुभएकाे छैन ।
