काठमाडौं । संविधान संशोधन विधेयकमाथि सांसद् सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरिदिनुभएकाे छ ।
प्रतिनिधि सभा बैठकमा मानचित्रसम्बन्धि विधेयकमाथिकाे दफादार छलफल सुरु हुनासाथ सांसद् गिरी उठ्नु भएकाे थियाे । उहाँ उठ्नासाथ सबै सांसद्हरुले विराेध जनाए । हाेहल्ला गरे ।
लगत्तै सभामुख सापकाेटाले रूलिङ गर्दै गिरीकाे संशोधनकाे सूचनालाई आफूले अस्वीकृत गरेको जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे - 'प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेख भएका संशाेधन सम्बन्धि शर्त पूरा नभएकाले तपाईंकाे संशाेधन सम्बन्धि सूचना अस्वीकृत गरिएकाे छ ।'
सभामुखले संशोधन प्रस्ताव अस्वीकृत भएको जानकारी दिएपछि गिरी बैठकबाट बाहिरिनुभयाे । विधेयकमा गिरीले मात्र संशाेधनकाे सूचना दर्ता गर्नुभएकाे छ ।
गिरीकाे पार्टी जनता समाजवादीले सरकारले प्रस्तुत गर्ने विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिसकेको छ ।
