काठमाडौं । नेकपाका अध्यक्ष तथा सांसद् पुष्कमल दाहाल प्रचण्डले भारतले कालापानी लिपुलेक समेटेर आफ्नो नक्सा प्रकाशित गरेर तथा त्यहाँको सडक उद्घाटन गरेर नेपाललाई चुनौती दिएपछि अहिलेको परिस्थिति आएको बताउनुभएको छ ।
प्रतिनिधि सभामा संविधान संशोधन विधेयक उपर बोल्दै प्रचण्डले भन्नुभयो– ‘पंचायती तानाशाहीको प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुेका छौं । राजतन्त्रले गुमायो, गणतन्त्रले लिँदैछ । त्यो ऐतिहासिक गौरव यो सदनलाई प्राप्त हुँदैछ ।‘
उहाँले भन्नुभयो– ‘यो सबै हाम्रो सामूहिक विवेकको प्रतिफल हो । यो कुनै व्यक्ति विशेषको मुद्दा पनि होइन, व्यक्ति विशेषले गरेर हुने पनि होइन ।’ उहाँले नक्सा सार्वजनिक गर्ने निर्देशन आफ्नो नेतृत्वमा बसेको पार्टी सचिवालय बैठकले दिएको पनि बताउनुभयो ।
विगतका सबैजसो प्रधानमन्त्रीहरुले कालापानी लिपुलेक र सुस्ताको विषय भारतसँग उठाएको पनि उहाँले दावी गर्नुभयो ।
प्रचण्डले भन्नुभयो– कश्मिर सम्बन्धी मुद्दामा भारतले आफ्नो देशको नयाँ नक्सा जारी गर्यो । भारत सरकारले सम्भवत कश्मिर इश्युमा लामो समयदेखि रहेको आन्तरिक समस्यालाई समाधान गर्ने उपायको रुपमा नयाँ नक्सा प्रकाशित गरेको थियो । उसको चाहना नेपाललाई जिस्काउने थिएन होला । उनीहरुको चाहना कश्मिरसँग सम्बन्धित विषयमा भारत सरकारको निर्णय स्थापित गर्ने थियो होला । तर त्यसले प्रकारान्तरले हामी सबैलाई झक्झकायो ।’
उहाँले भन्नुभयो– ‘भारतले नक्सा प्रकाशित गरेपछि सवाल खडा भयो– नेपालले पनि नक्सा प्रकाशित गर्ने या नगर्ने ? सौभाग्यवश भनौं या संयोगवश भनौं, त्यति नै बेला हाम्रो नेकपामा सचिवालय बैठकमा मलाई अध्यक्ष पनि कार्यकारी भूमिका बढाउने भनिएको सन्दर्भ थियो, स्थायी समितिको बैठकबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले पनि नक्सा प्रकाशित गर्नुपर्छ भन्ने निर्णय हामीले गर्यौं । मैले पार्टी अध्यक्षको हैसियतले अर्काे अध्यक्ष प्रमलाई नक्सा प्रकाशित गराउने बारे पार्टीको निर्णय जानकारी गराउँदै आएको थिएँ ।‘
भारतले नक्सा प्रकाशित गरेपछि, लकडाउनको बेला सडक उदघाटन गरेपछि परिस्थिति फेरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘प्रकारान्तरले त्यो नक्सा प्रकाशित गरेर र त्यो बाटो भारतका मन्त्रीले उदघाटन गरेर हामी नेपालीलाई एकतावद्ध हुन, आफ्नो गुमेको जमिन फिर्ता लिन अगाडि बढ्न नकारात्मक रुपले चुनौती दियो । त्यसका लागि भारतका ती मन्त्रीलाई धन्यवाद भन्न चाहन्छु । इतिहासको जिम्मेवारी पूरा गर्न हामीलाई घच्घचाउनु भयो । तपाईहरुले त्यसो नगरेका भए हामीले अलि अर्के तरिकाले समाधान गर्न चाहेका थियौं । वार्ता संवादबाटै समाधान गर्न चाहेका थियौं । तर, आज हामी संविधान संशोधनको यो घडीसम्म आइपुगको छौं ।’
‘फेरि पनि भारतसँग विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौं– हामीले मित्रता चाहेका छौं, हामी असल छिमेकीको नयाँ सम्बन्धको युगतिर जान चाहेका छौं । यसमा भारतको मैत्री र सहयोग अपरिहार्य छ ।’
अहिलेको परिस्थितिमा पानी धमिलो पारेर माछा मार्न प्रयास नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
