काठमाडौं । सांसद् उपेन्द्र यादवले जबसम्म आन्तरिक एकता बलियो हुँदैन तबसम्म वाह्य शक्तिसँग लड्न नसकिने बताउनु भएको छ ।
‘राष्ट्रियताको सवालमा हाम्रो पार्टी एक ठाउँमा छ, हामीले बहुमतले मात्र हैन सर्वसम्मतिले संविधान संशाेधनको प्रस्ताव पारित गर्ने निर्णय गरेका छौ’, शनिबार प्रतिनिधि सभा बैठकमा नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ माथिको दफावार छलफलमा बोल्दै यादवले भन्नुभयो ।
कालापानी लगायतको विवादित विषयमा दुईदेश बिचका सम्बन्ध नबिग्रने गरी कुशल वार्ताबाट समस्या समाधान गर्नु पर्ने उहाँले बताउनुभयो । ‘छिमेकी राष्ट्र चीन र भारत दुवै देशसँग सम्बन्ध राम्रो राख्दा नेपालको हित हुन्छ ’ उहाँले भन्नुभयो ।
सुगौली सन्धि अत्यन्त अपमानजनक भएको यादवले बताउनुभयो । सन्धिबाट नेपालले ठूलो भूमि गुमाए पनि त्यो सन्धिले काली नदीलाई सिमाना नदी मानेको उहाँले बताउनुभयो । तर महाकाली सन्धि गर्दा सन्धिका हर्ताकर्ताले महाकालीको आधा भाग भारतलाई दिने गरी सम्झौता गरेकाे बताउँदै उनीहरुले माफी माग्नु पर्ने यादवले बताउनुभयो ।
सुगाैली सन्धिका अपमानजनक प्रावधानहरुकाे चर्चा गर्दै उहाँले नेपाली राष्ट्रियता बलियाे बनाउन अान्तरिक एकता बलियाे हुनुपर्ने बताउनुभयाे ।
नेपालको मानचित्रमा कालापानीको चुच्चो किन, कहिले र कसको पालामा गायव भयो भन्ने पनि खोज्नु पर्ने उहाँले बताउनुभयो ।
संविधान संशाेधन विधेयक बहुमतले मात्र नभएर सर्वसम्मतिले पारित गर्ने निर्णय अाफ्नाे पार्टीले गरेकाे उहाँले बताउनुभयाे ।
