काठमाडौं । जनता समाजवादी पार्टीका सांसद् राजेन्द्र महतोले प्रतिनिधि सभा बैठकमा उग्र भाषण गर्नुभएको छ । ‘मधेसीलाई राष्ट्रघाती भन्ने ? मधेसीलाई राष्ट्रवादी नमान्ने ? मधेसीको अग्नि परीक्षा नलिनस् ।’
उहाँको भनाई थियो– अब राष्ट्रघातीको पहिचान गर्नुपर्छ । त्यसलाई टुँडिखेलमा झुण्डाउनुपर्छ ।
कालापानी लिपुलेकको जमिन नेपाली जनतालाई चाहिएको भन्दै उहाँले भूमि फिर्ता लिनुपर्छ भन्नुभयो । नेपाल भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारले बनाएको होइन भन्दै उहाँले नेपालमा ककसले देश बेच्यो भनेर श्वेतपत्र जारी गर्नुपर्ने बताउनुभयो । महाकाली सन्धि गर्दा कालापानी लिपुलेक कहाँ थियो भनी उहाँले प्रश्न गर्नुभयो ।
‘नेपालको नयाँ नक्सा राष्ट्रियतासँग पनि जोडिएको सवाल हो । सम्पूर्ण नेपालीको भावनासँग पनि जोडिएको सवाल हो । देशको सर्वाभौमिता अखण्डता सँग पनि जोडिएको सवाल हो’– महतोले भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘याद गर्नुस् राष्ट्रियता कसैको एकलौटी हुँदैन । कुनै एउटा वर्ग कुनै एउटा जात एउटा समुुदाय एउटा क्षेत्रको राष्ट्रियता हुन सक्दैन ।’
जनताको रक्षा पनि गर्नुपर्छ, हाम्रो भूमिको रक्षा पनि गर्नुपर्छ– महतोले भन्नुभयो ।
