काठमाडौं । सांसद् राजेन्द्र लिङदेनले मानचित्र सम्बन्धि संविधान संशोधन विधेयक ऐतिहासिक भएको बताउनु भएको छ ।
प्रतिनिधि सभामा नेपालको संविधान दोस्रो संशाेधन विधेयक २०७७ माथिको दफावार छलफलमा बोल्दै उहाँले देश भन्दा माथि काेही पनि नरहेकाे बताउनुभयाे ।
‘सबैभन्दा माथि देश छ, देशमाथि केही पनि छैन, यो संविधान प्रति हाम्रो धेरै विमति भएपनि देशको भूमि फिर्ता ल्याउने कुरामा हाम्रो कुनै विमति छैन’- उहाँले भन्नुभयो ।
सांसद् लिङ्देनले भारतसँग भाइ हाेइन एक मित्रका रुपले वार्ता हुनुपर्ने बताउनुभयो । भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगडासम्म छाड्नुपर्ने उहाँले उहाँको भनाई छ ।
भारतले गल्ती भएछ भनेर नेपाली भूमि फिर्ता गर्नैपर्ने उहाँले बताउनुभयो । यो सम्भव छ र हामी सक्छौं भन्ने धारणा साथ हाम्रै जीवन कालमा भूमि प्राप्त गर्नतर्फ अब अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।
आजको ऐतिहासिक दिन ल्याउन नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र सम्पूर्ण दलका सांसद्लाई समेत उहाँले बधाई दिनुभयाे ।
