काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले अाजकाे दिन इतिहासमा स्वर्ण अक्षरले लेखिने बताउनु भएकाे छ ।
प्रतिनिधि सभामा नेपालको संविधान दोस्रो संशाेधन विधेयक २०७७ माथिको दफावार छलफलमा बोल्दै उहाँले भन्नुभयाे - 'इतिहासले हाम्राे पुस्तालाई सुम्पेको जिम्मेवारी पूरा गर्दैछाैं, जुन इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ ।'
नयाँ मानचित्र अनुसार संविधानको अनुसूचीमा संशोधन गर्दा देशका सबै नागरिकसँग खुसी साट्न चाहेकाे बताउँदै उहाँले भन्नुभयाे- 'म गर्व गर्न चाहन्छु, जसले नेपाली चिन्न चाहन्छ बुझ्न चाहन्छ उसले अाजकाे दिन याद गर्नेछ।’
अतिक्रमित क्षेत्रमा दाबी स्थापित क्षणमा अाइपुगिएकाे उहाँकाे भनाइ छ । केपी शर्मा ओली सरकारको अग्रसरताले अहिलेको अवस्थामा आइपुगेको पनि उहाँले बताउनुभयो । सरकार यस मामिलामा सिंगो राष्ट्रलाई लिएर अघि बढ्न सफल भएको उहाँले बताउनुभयो ।
यो निर्णय कसैका विरुद्ध नभइ नेपालको पक्षमा भएको उहाँले बताउनुभयो । नेपाल र नेपालीको पक्षमा उभिँदा कोही रिसाउँछ भनेर चिन्ता गर्न नहुने उहाँले बताउँनुभयाे । ‘हामीले हाम्रो भूमिमाथिको हक दावी गर्न चाहेका हौँ, यसले हाम्रो सम्बन्ध अझ उचाइमा पुग्नुपर्छ’, पौडेलले भन्नुभयो ।
मानचित्रले मात्र भूमि फिर्ता नआउने कुरा कतिपयले बताएका भन्दै पौडेलले गुमेको भूमि फिर्ता लिन मानचित्र सार्वजनिक गर्नु पनि त्यतिकै महत्व रहेको उहाँले बताउनुभयो । तथ्यको जगमा उभिएर अब नेपालको हक स्थापित गर्ने उहाँले बताउनुभयो ।
