काठमाडौं । नेकपा सांसद् भीम रावलले नेपालकाे भूमि फिर्ता गर्न भारतले चासाे नदिएकाे बताउनु भएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै उहाँले भन्नुभयाे - 'नेपालको भूमि फिर्ता गर्ने विषयमा नेपाल सरकारले राखेको वार्ताको प्रयासमा भारतले कुनै चासो दिएकाे छैन ।' नेपाली भूमि फिर्ता गराउने विषयमा नेपाली प्रतिवद्ध र एकजुट रहेको बताउनुभयो । ‘दशगजामा हाम्रा प्रहरी माथि आक्रमण भएको छ, सीमामा आएर हाम्रा नागरिकहरु कुटिएका छन्, हाम्रो जमिन मिचिएको छ’- रावलले भन्नुभयो ।
मानचित्रमा नेपाली भूमि राख्ने कुराको राजनीतिक महत्व रहेको उहाँले बताउनुभयो । आफ्नो मातृभूमि रक्षाका लागि सिंगो राष्ट्र एक भएको उहाँले बताउनुभयो ।
अतिक्रमणमा परेको भूमि कुनैपनि हालतमा फिर्ता गरेरै छाड्ने पनि रावलले प्रतिवद्धता जनाउनुभयो । कुनै पनि राष्ट्रले नेपालको सार्वभौमसत्ता र भूमिको सम्मान गर्नुपर्ने उहाँको भनाई छ । कोरोनाका कारण पनि सबै मुलुकले आफ्नो सीमा रक्षाका लागि काम गरेको बताउँदै नेपालका लागि यो समय उपयुक्त भएको उहाँले बताउनुभयो ।
