काठमाडौं । कांग्रेस सांसद् डा. शशांक कोइरालाले राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र सार्वभौम अखण्डताको पक्षमा पार्टी सधै प्रतिबद्ध रहने बताउनु भएको छ ।
प्रतिनिधि सभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक,२०७७ माथिको दफावार छलफलमा बाेल्दै उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले मानचित्र सार्वजनिक गरेकामा कांग्रेसकाे दृढ समर्थन रहेकाे बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘अहिलेसम्म राष्ट्रिय एकताका लागि कांग्रेस सशक्त रुपमा उभिएको छ र भविष्यमा पनि उभिनेछ ।’ नेपाल र भारतबीच रहेका खुल्ला सिमाना नेपालका लागि भारतको र भारतका लागि नेपालको महत्वको परिचायक रहेको महशुस गरिएको पनि उहाँले बताउनुभयो ।
आफ्नो देशको भूभाग समेटेर नक्सा जारी गर्नु राष्ट्रिय आवश्यकता भएका कारण यसबाट नेपाल र भारतबीचमा कुनै पनि किसिमका वैमनस्यता पैदा हुन नहुने उहाँको भनाई छ ।
‘नेपालको राष्ट्रियताका लागि के सरकार र के प्रतिपक्ष हामी सबै एकसाथ उभिएका छौं’ भन्दै उहाँले भन्नुभयो–‘संसारभरी नै यो हाम्रो एकताको सकरात्मक सन्देश हो ।’
कांग्रेस सांसद् प्रकाशमान सिंहले राष्ट्रियताको सवालमा कांग्रेस जस्तोसुकै अवस्थामा पनि अडिग भएको बताउनुभयाे ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेट्न सरकारले गरेको ऐतिहासिक निर्णयको समर्थन गर्ने भन्दै उहाँले राष्ट्रियताका सवालमा मात्र नभई हरेक नेपालीको पक्षमा कांग्रेस रहने बताउनुभयो ।
