काठमाडौं । नेपालकाे नयाँ मानचित्रसम्बन्धि संविधान संशाेधन विधेयक प्रतिनिधि सभा बैठकबाट सर्वसम्मतिले पारित भएकाे छ ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत नेपालको भूभाग समेटिएको मानचित्र निशान छापमा राख्न सरकारले ल्याएकाे नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित भएको हाे ।
सभामुख अग्निप्रसाद सापकाेटाले विधेयक पारित गरेकाे घाेषणा गर्दा तालीकाे गडगडाहटले बैठक कक्ष गुञ्जायमान भयाे । पारित भएकाे घाेषणा गर्दा सभामुख नै एक्साइटेट बन्नुभएकाे थियाे ।
बैठकमा उपस्थित २५८ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए । विधेयको विपक्षमा शून्य मत परेकाले संविधान संशोधन विधेयक दुईतिहाइभन्दा बढी मतले पारित भएकाे हाे ।
संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा नेपाल, जनता समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरे । तर जनता समाजवादी पार्टीकी सांसद् सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी हुनुभएन । अाफूले राखेकाे संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेकाे घाेषणा गर्नासाथ गिरी बैठकबाट बाहिरिनुभएकाे थियाे ।
सरकारले वास्तविक भूमि अनुसारको नेपालको मानचित्र निशान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको हाे । साे विधेयक अब राष्ट्रिय सभाबाट विधेयक पारित गरिनेछ ।
संघीय संसदका दुबै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । त्यसपछि नेपालको संविधानकाे अनूसूची ३ मा रहेकाे निशान छाप परिवर्तन हुनेछ । पूरानाे मानचित्र हटाएर नयाँ राखिनेछ ।
जेठ ५ गते बसेकाे मन्त्रिपरिषद् बैठकले नयाँ मानचित्र स्वीकृत गरेको थियो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जेठ ७ गते भारतले अतिक्रमण भूमि समेटेर नयाँ मानचित्र जारी गरेको थियो ।
नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले जेठ ९ गते संघीय संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।
