काठमाडाैं । प्रतिनिधि सभा बैठकले पारित गरेको नेपालकाे मानचित्रसम्बन्धि विधेयक अाज राष्ट्रिय सभामा टेबुल हुँदैछ ।
राष्ट्रिय सभाको आज बस्ने बैठकमा सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई सभा समक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ । बैठक बिहान ११ बजे बस्दैछ ।
भारतले लुटेकाे नेपालकाे लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भूमि समेटेर तयार पारिएकाे मानचित्र अनुसार संविधानकाे अनुसूची ३ मा रहेकाे निशान छाप परिवर्तन गर्न साे विधेयक ल्याइएकाे हाे ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ सर्वसम्मतिले पारित गरेकाे थियाे ।
संघीय संसदका दुबै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । त्यसपछि नेपालको संविधानकाे अनूसूची ३ मा रहेकाे निशान छाप परिवर्तन हुनेछ । पूरानाे मानचित्र हटाएर नयाँ राखिनेछ ।
जेठ ५ गते बसेकाे मन्त्रिपरिषद् बैठकले नयाँ मानचित्र स्वीकृत गरेको थियो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जेठ ७ गते भारतले अतिक्रमण भूमि समेटेर नयाँ मानचित्र जारी गरेको थियो ।
नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले जेठ ९ गते संघीय संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।
