काठमाडाैं । राष्ट्रिय सभा बैठकमा नेपालकाे नयाँ मानचित्रसम्बन्धि विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकबाट लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भूभाग समेटिएकाे नेपालकाे नयाँ मानचित्र सम्बन्धि संविधान संशाेधन विधेयक सर्वसम्मत पारित भएको थियाे ।
अाइतबार बसेकाे राष्ट्रिय सभाकाे पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गर्नु भएकाे थियाे ।
राष्ट्रिय सभाको दोस्रो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभयाे ।
साे प्रस्ताव स्वीकृत भएपछि सैद्धान्तिक छलफल सुरु भएकाे हाे । अहिले विधेयकमाथि सांसद्हरुले अा अाफ्नाे धारणा राखिरहनु भएकाे छ ।
सैद्धान्तिक छलफल सकिएपछि संशोधनकाे सूचना दर्ताका लागि ७२ घण्टाको समय दिइनेछ । साे समय सकिएपछि विधेकमाथि सभामा दफावार छलफल हुनेछ । दफावार छलफल सकिएपछि विधेयक पारितका लागि निर्णयार्थ पेस गरिनेछ । दुई तिहाइ बहुमतले पारित भएपछि पुन प्रतिनिधि सभामा पठाइनेछ ।
संघीय संसद्का दुवै सदनबाट पारित भएकाे साे विधेयक सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनुहुनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेपालको संविधानकाे अनूसूची ३ मा रहेकाे निशान छाप परिवर्तन हुनेछ । निशान छापमा रहेकाे पूरानाे मानचित्र हटाएर नयाँ राखिनेछ ।
जेठ ५ गते बसेकाे मन्त्रिपरिषद् बैठकले नयाँ मानचित्र स्वीकृत गरेको थियो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जेठ ७ गते भारतले अतिक्रमण भूमि समेटेर नयाँ मानचित्र जारी गरेको थियो ।
नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले जेठ ९ गते संघीय संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।
