हेटौंडा । वागमती प्रदेश सासंद्हरुले संघीय प्रतिनिधि सभामा संविधान संशोधन गर्दा सबै दलको एकता प्रदर्शन भएकामा खुशी व्यक्त गर्नुभएकाे छ ।
आइतबार बसेको प्रदेशसभा बैठककाे विशेष समयमा सासंद्हरुले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भू-भाग फिर्ता ल्याउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकाय तथा विभिन्न राजनीति दलहरुको अविछिन्न एकताको अपरिहार्यता हुनुपर्ने बताउनुभएकाे छ ।
प्रदेश सरकारले आगामी आव २०७७ / ७८ को बजेको तर्जुमा गर्दा कृषिको उत्पादन एवम् राष्ट्रिय गौरवको आयोजनाहरुको सन्तुलित बाँडफाँट गर्नुपर्ने सत्तारूढ सांसद्हरुले बताउनुभयाे ।
कोरोना उपचारका लागि सुविधायुक्त अस्पताल, आइसोलेशन कक्षको स्थापना गर्न र प्रदेशको थप चार स्थानमा सुविधायुक्त प्रयोगशालाको स्थापना गर्नेतर्फ पनि बजेटले प्राथमिकता पाउनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।
उहाँहरुले उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आलेमगरलाई पीसीआरको दायरा अत्यधिक मात्रामा बढाउन माग गर्नुभयाे । उहाँहरूले कोरोना अस्पतालमा उपचार विधिलाई प्रदेश सरकारले पनि आ–आफ्ना तर्फबाट स्वास्थ्य सामग्री, दक्ष स्वास्थ्यकर्मी र चिकित्सक उपलब्ध गराउन माग गर्नुभयो ।
प्रतिपक्षी सांसद्हरुले हालै रुकुममा घटेको जातीय विभेदका कारण भएको मानवीय नरसंहार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनबमोजिम कारवाही अगाडि बढाउन माग गर्नुभयाे । उहाँहरूले संविधानको प्रदत्त अधिकार प्रयोग गरी आगामी दिनमा जातीय विभेद गरी आत्मसम्मानलाई ठेस पुर्याउने कुनै पनि कार्य नगर्नेतर्फ राजनीति दलहरु सतर्क हुनुपर्ने सुझाव दिनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले प्रदेशमा कोरोना सङ्क्रमण रोग तथा उपचार कोषको रकमको खर्च तत्काल सार्वजनिक गर्न माग गर्नुभयो ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशमा आर्थिक कार्यविधि, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले ‘वन तथा वातावरण संरक्षण गर्न बनेको विधेयक २०७६ लाई विचार गरियोस्’ भनी प्रस्ताव राख्नुभएको थियो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश प्रहरी ऐन २०७६ लाई व्यवस्थापन गर्न बनेको विधेयक विभिन्न समितिमा दफाबार छलफलका लागि पठाइयोस् भनी प्रस्ताव टेबुल गर्नुभयो ।
असार १ गते साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
–रासस
