काठमाडौं । कांग्रेस सांसद् प्रकाश पन्थले कोराेना केन्द्रित संयुक्त संसदीय समिति बनाउन माग गर्नुभएकाे छ ।
राष्ट्रिय सभा बैठकमा बाेल्दै उहाँले संघीय संसद्का दुवै सदनका सांसद् सम्मिलित काेराेना केन्द्रित संयुक्त संसदीय समिति बनाउन माग गर्नुभयाे ।
कोरोनाका कारण सदनको काम कारवाही लामाे समयसम्म निरन्तर हुन नसक्ने हुँदा आवश्यक पर्दा सरकारलाई उचित निर्देशन दिन समिति बनाउनुपर्ने बताउनुभयाे ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तरगत खर्च कटाैतीकाे प्रस्ताव पेस गर्दै उहाँले भन्नुभयाे - 'महामारीका कारण सदनकाे अधिवेशन लामाे समय चल्ने अवस्था छैन, सरकारले अध्यादेश ल्याउन सक्छ त्यसैले सदन नचलेका बेला पनि काेराेनाबारे सरकारलाई निर्देशन दिन समिति अावश्यक छ ।
कोरोनापछि सबैभन्दा पहिले युवा परिचालनमा ध्यान दिनुपर्ने भएपनि पर्याप्त बजेट नआएको उहाँले बताउनुभयो । युवाहरुलाई सही रुपमा परिचालन गर्नका लागि उच्चस्तरीय युवा आयोग नै बनाएर काम गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले युवाहरुलाई कृषिदेखि उद्योग लगायत क्षेत्रमा परिचालन गर्नुपर्ने हुँदा सही रुपमा बजेट परिचालन गर्न माग गर्नुभयो । उहाँले खेलाडीहरुका लागि हरेक स्थानीय तह तथा विद्यालयहरुमा खेलकुदका पूर्वाधारहरुको निर्माण गर्न समेत आग्रह गर्नुभयो ।
सूचना तथा प्रविधि मन्त्रालयले इन्टरनेटलाई सर्वसुलभ बनाएर सबैको पहुँचमा पुर्याउनु पर्ने बताउनुभयो । मन्त्रालयले बहुआयामिक ढंगबाट सोच्नुपर्ने भन्दै उहाँले सूचना प्रविधिलाई कृषि, उद्योग तथा राष्ट्रिय सुरक्षासँग जोड्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
सांसद् पन्तले कानुन न्याय तथा संसदीय मामिला, खानेपानी युवा तथा खेलकुद र सञ्चार तथा सूचना प्रवधि मन्त्रालय अन्तरगत विभिन्न शिर्षकमा छुट्याइएकाे बजेटमा उहाँले खर्च कटाैतीकाे प्रस्ताव गर्नुभयाे ।
