काठमाडौं । के नेपालीहरु राम्रो कामको पनि विरोध गर्छन् ? यो प्रवृत्तिगत प्रश्न नेकपाका सांसद् भैरवसुन्दर श्रेष्ठले उठाउनभएको हो ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै भैरवसुन्दरले भन्नुभयो– ‘ नेपालीको बानी के छ भने राम्रो कामको पनि विरोध गर्ने । नराम्रो कुराको विरोध हुनुपर्नेमा राम्रो कुराको पनि विरोध गर्छन् । ’
उहाँले काठमाडौं उपत्यका धूलोमुक्त बनेको, कर्णालीमा विकास सुरु भएको, रोजगार सिर्जना भएको, अर्थतन्त्रले सहि बाटो लिएको भन्दै राम्रो कामको समर्थन हुनुपर्ने बताउनुभयो– ‘सरकारले राम्रो काम गरिरहेको छ ।’
‘विकासको मेरुदण्ड सडक हो’– उहाँले भन्नुभयो– ‘सडकको अभावमा कर्णालीले धेरै दुःख भोग्यो । विगतको सरकारले कर्णाली हेरेन, अहिलेको सरकारले कर्णालीलाई हेरेको छ ।’
‘डोल्पा सडकमा जोडियो, हुम्ला सडकमा जोडिएको छैन, त्यसका लागि बजेट छुट्टाइएको छ । अन्य सडकहरु पनि बन्दैछ’– उहाँले भन्नुभयो ।
