काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले पर्यटन मन्त्रालय एयर माफिया, हवाई माफिया र पर्यटन माफियाकाे जालोमा फसेको बताउनुभएकाे छ ।
मंगलबार राष्ट्रिय सभा बैठकमा विनियोजित बजेट माथिको छलफलमा भाग लिँदै उहाँले ‘म भोगेर आएको छु, तपाई त्यो जालोबाट निस्किएर आउनुस्’ भन्दै पर्यटन मन्तालयकाे ध्यानाकर्षण गर्नुभयाे । उहाँले मन्त्रालय भित्रका माफियाहरूकाे पहिचान गरी त्यस्काे जालाे ताेड्न आग्रह गर्नुभएकाे छ ।
सांसद् देवले निजगढ विमानस्थलको काम कुनै पनि हालतमा रोक्न नहुने बताउनुभएको छ ।
देश र जनतालाई अगाडी राखेर निजगढ विमानस्थलको कामलाई दायाँबायाँ नहुने गरी अगाडि बढाउनु पर्ने बताउनुभयो । ‘निजगढ विमानस्थल मुलुकको गेम चेन्जर प्राेजोक्ट हो, यसमा कुनै पनि प्रकारको भूत प्रेत नलागोस्’, उहाँले भन्नुभयो ।
पर्यटन मन्त्रालय भित्र व्यक्तिको नाममा खडा गरिएका पुरस्कार कोष, धार्मिक स्थल विकासको नाममा गठन गरिएका विकास समिति , विभिन्न नेताको नाममा खडा गरिएका विकास कोषका नाममा ब्रम्हलुट हुने भएकाले ती शिर्षकका रकम कटौती गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘अहिले स्थानीय सरकारलाई पैसा गइरहेको छ, फेरी पर्यटन मन्त्रालयबाट किन रकम खर्च गर्नुपर्यो’, भन्दै उहाँले प्रश्न गर्नुभयाे।
