काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अनलाईन कक्षामा विद्यार्थीको पहुँच नभएकोले व्यवहारिक नहुने बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै उहाँले शिक्षामा आमुल सुधारको लागि सरकारका कदम प्रभावकारी हुनुपर्नेे बताउनुभयो ।
‘अनलाईन शिक्षाको लागि सबै ठाउँमा इन्टरनेट छैन, डिभाइसहरु छैनन्, कति जनताको त्यसमा पहुँच छैन, कतिपयको घरमा टेलिभिजन र रेडियो छैनन्, यसको मुल्याङ्कन कसरी गर्न सकिन्छ’, भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
कोरोनाले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको बताउँदै उहाँले एसईईको परीक्षा नहुने भए पनि ११, १२ र उच्च शिक्षाको बारेमा अन्योलता कायम रहेको बताउनुभयो । यस बारेमा सरकार स्पष्ट हुनुपर्ने उहाँको भनाई छ ।
पन्थले क्वारेन्टाइन आपराधिक स्थलको रुपमा विकास हुँदै गएकोले त्यसको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले कृषि क्षेत्रमा बजेट खासै फोकस हुन नसकेकाे भन्दै कृषिलाई युवासँग, उद्योगसँग जोड्न पहल गर्नुपर्ने बताउनुभयाे ।
कालबजारी, महंगी बढ्दै गएकोले त्यसमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभएकाे छ ।
उद्योग, पर्यटन, व्यवसाय क्षेत्र उठेमा माात्र कर उठ्न सक्ने भन्दै उहाँले त्यसकाे लागि राहतकाे व्यवस्था गर्नुपर्ने बताउनुभयाे ।
साथै बजेटले उद्योग प्रवर्धनलाई छुन नसकेको बताउँदै त्यसमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
